निर्वाचनको परिणाम जादुमय देखियो, देशमा घृणाको राजनीति गरेर हाम्रोबारे कुप्रचार भयोः ओली
काठमाडौं, १२ चैत । नेकपा (एमाले)ले राष्ट्रियसभा सांसद र प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको बैठक आह्वान गरेको छ। बैठकलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्नुभएको छ । सम्वोधनमा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको उल्लेख गर्नुभयो । ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भन्नुभयो, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’ उहाँले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरेको पनि आरोप लगाउनु भयो ।