संसद्मा नयाँ अभ्यास : कांग्रेस, एमाले र नेकपा एउटै प्रतिपक्षी बेन्चमा

काठमाडौँ, १२ चैत । मुलुकका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसद्मा अब एउटै बेन्च (प्रतिपक्ष) मा बस्ने भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीनै प्रमुख दललाई प्रतिपक्षी भूमिकामा पुर्‍याएपछि यस्तो परिस्थिति बनेको हो ।

संसदीय इतिहासमा लामो समयपछि यी प्रमुख दलहरू एउटै बेन्चमा देखिन लागेका हुन् । यसअघि वि.सं. २०६३ मा तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसद्मा यी तीनवटै दल एउटै बेन्चमा रहेका थिए । तर, २०६४ सालको संविधानसभा निर्वाचन र त्यसपछिका विभिन्न संसद्हरूमा यी तीनमध्ये कुनै न कुनै दल सत्ता पक्षमा र बाँकी प्रतिपक्षमा रहने अभ्यास रहँदै आएको थियो ।

यसपटक नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नेछ भने एमाले र नेकपा अन्य प्रतिपक्षी दलका रूपमा रहनेछन् । प्रतिनिधिसभामा तीनवटै दल विपक्षी बेन्चमा रहने सुनिश्चित भएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा तीनै दलका सांसदहरू प्रतिपक्षी बेन्चमा उभिएका थिए । सङ्घीय संसद् सचिवालयले राजनीतिक दलहरूको सिट सङ्ख्याका आधारमा बैठक कक्षमा बस्ने बेन्चहरूको व्यवस्थापन गरेको जनाएको छ ।