सरकारको गुण र दोषका आधारमा सहयोगी भूमिका निर्वाह गर्छौँ : एमाले सचिव अर्याल
काठमाडौँ, चैत १२ । नेकपा (एमाले) का सचिव पद्मा अर्यालले आफ्नो पार्टीले सरकारको गुण र दोषका आधारमा रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । सङ्घीय संसद् सदस्यको रूपमा आज शपथ ग्रहण गरेपश्चात् उहाँले प्रतिपक्षको हैसियतले सकारात्मक कार्यमा सरकारलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सचिव अर्यालले प्रतिपक्षमा रहँदा सरकारका कामकारबाहीको मूल्याङ्कन गरी गुण र दोषका आधारमा आफ्नो भूमिका तय गर्ने स्पष्ट पार्नुभयो । “हाम्रो मुख्य ध्येय जनसेवा र राष्ट्रसेवा हो,” उहाँले भन्नुभयो, “मुलुकको विकास, समृद्धि र जनताको आवाजलाई बुलन्द बनाउन धेरै लोकतान्त्रिक शक्तिहरूसँग मिलेर प्रभावकारी भूमिका निर्वाह गर्नेछौँ ।”
संसद् सदस्यको जिम्मेवारीलाई निजी उपलब्धिका रूपमा नभई जनताको विश्वास र अपेक्षाका रूपमा लिएको उहाँको भनाइ थियो । सचिव अर्यालले संसद्मा पारदर्शिता र सुशासन कायम गराउन एमालेले निरन्तर खबरदारी गर्ने समेत उल्लेख गर्नुभयो ।
“प्रतिपक्ष हुनुको अर्थ सरकारको विरोध मात्रै गर्ने भन्ने होइन,” उहाँले थप्नुभयो, “अब बन्ने सरकारले गर्ने जनमुखी र सकारात्मक कार्यमा हाम्रो पूर्ण सहयोग रहनेछ ।” उहाँले आगामी दिनमा संसद्मा एमालेको उपस्थिति जनताको हित र सुशासनका पक्षमा केन्द्रित हुने विश्वास दिलाउनुभयो ।