सांस्कृतिक पहिचान झल्काउन सांसदहरू मौलिक भेषभूषामा: संसद्मा देखियो विविधताको रङ

काठमाडौँ, १२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै मौलिक परम्परागत भेषभूषामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सङ्घीयताको मर्म र समावेशी लोकतन्त्रको भावना अनुरूप विभिन्न समुदायका सांसदहरू आ-आफ्नो जातीय पहिरन र मातृभाषामा उपस्थित हुँदा संसद् भवन एक साझा फूलबारी झैँ देखिएको थियो।

थारु समुदायको प्रतिनिधित्व गर्दै सांसद गीता चौधरीले आफ्नै मातृभाषामा शपथ लिनुभयो। उहाँ आफ्नी आमाले सिलाइदिएको परम्परागत ‘लहङ्गा र चोलिया’मा सजिएर संसद् पुग्नुभएको थियो। उहाँले आफ्नी सानी छोरीलाई समेत जातीय पहिरनमै सँगै ल्याउनुभएको थियो। शिरमा पुर्ख्यौली गहना ‘मङ्गौरी’ र घाँटीमा ‘टौक’लगायतका चाँदीका गहना लगाएकी चौधरीले भन्नुभयो, “आउने पुस्तालाई संस्कृति हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, त्यसैले छोरीलाई पनि यही पहिरनमा ल्याएकी हुँ।”

त्यसैगरी, गोर्खाका सांसद सुधन गुरुङ गुरुङ समुदायको मौलिक पोसाक र शिरमा खुकुरीको आकृति झल्किने टोपीमा सजिएर शपथ ग्रहणमा सहभागी हुनुभयो। सधैँजसो औपचारिक कोट-पाइन्टमा देखिने गुरुङले शपथका दिन जातीय पहिचान रोज्दै जनताको भावनालाई मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेकपाबाट निर्वाचित दाङकी सांसद भीमकुमारी बुढामगरले मगर समुदायको सांस्कृतिक समृद्धि र समावेशिताको सन्देश दिन पुर्ख्यौली वेषभूषा प्रयोग गर्नुभयो। उहाँले आफ्नो हुर्काइ र पहिचानको कदर गर्दै संसद्मा सोही पहिरनमा उपस्थित भएको बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रमोदकुमार महतोले तराईको पहिचान र अपनत्व झल्किने गरी कुर्था-सुरुवाल, शिरमा रातो रुमाल र ‘श्रीराम’ अङ्कित गम्छा लगाएर शपथ लिनुभयो। उहाँले आफ्नो पहिरनले राष्ट्रिय भाव बलियो बनाउने र संसद्मा तराईको अस्तित्व महसुस गराउने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) समुदायको प्रतिनिधित्व गर्दै रास्वपाबाट निर्वाचित सांसद भूमिका श्रेष्ठले नेवार समुदायको परम्परागत ‘हाकुपटासी’ सारी र मौलिक गहना लगाएर सबैको ध्यान आकर्षित गर्नुभयो। उहाँले समुदायको सम्मान र जनसेवालाई मुख्य प्राथमिकतामा राख्दै राष्ट्रको अस्तित्व सम्बोधन गर्न परम्परागत पहिरन रोजेको बताउनुभयो।

विभिन्न जातजाति र समुदायका सांसदहरूको यस्तो मौलिक उपस्थितिले नेपालको सङ्घीय संसद्लाई विविधतायुक्त र समावेशी बनाएको छ। उनीहरूले आफ्नो पहिरन र भाषा मार्फत समुदायको आवाजलाई राज्यको माथिल्लो तहसम्म पुर्‍याउने सङ्केत दिएका छन्।