चितवन तोडफोड प्रकरणः आगजनी र उपद्रोमा संलग्न ९३ जनामाथि मुद्दा दायर, १२ जना पुर्पक्षका लागि थुनामा

चितवन, १६ चैत । ‘जेन्जी आन्दोलन’का क्रममा गत भदौ २४ गते चितवनमा भएका तोडफोड र आगजनीको घटनामा संलग्न ९३ जनामाथि प्रहरीले कानुनी कारबाही अघि बढाएको छ। आन्दोलनको दोस्रो दिन सरकारी तथा निजी सम्पत्ति, राजनीतिक दलका कार्यालय र व्यापारिक प्रतिष्ठानमा व्यापक क्षति पुर्‍याएको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा ८४ वटा मुद्दा दर्ता गरेको छ। दर्ता भएका मुद्दाहरूमध्ये ७४ वटा आपराधिक उपद्रो, ७ वटा अभद्र व्यवहार, २ वटा चोरी र एउटा लागूऔषधसम्बन्धी रहेको चितवनका प्रहरी प्रमुख (एसपी) गोविन्द पुरीले जानकारी दिए। मुद्दा चलाइएका ९३ जनामध्ये ५३ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो।

अदालतमा हाजिर गराइएका ५३ जनामध्ये ४१ जना धरौटीमा रिहा भएका छन् भने १२ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। थुनामा पठाइएकामध्ये ५ जना आपराधिक उपद्रो, २ जना चोरी र १ जना लागूऔषध मुद्दाका हुन्। त्यस्तै, धरौटी रकम बुझाउन नसकेर ३ जना र पुरानो मुद्दामा फैसला भई फरार रहेका १ जनालाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

आन्दोलनका नाममा जिल्लाभर व्यापक क्षति गरिएको थियो। एसपी पुरीका अनुसार ६२ वटा सरकारी कार्यालय, १० वटा व्यक्तिगत घर, राजनीतिक दल र सञ्चारमाध्यमका ९ वटा कार्यालय तथा ३ वटा व्यापारिक केन्द्रमा तोडफोड र आगजनी भएको थियो। क्षतिपूर्तिको माग गर्दै सरकारी कार्यालय, व्यक्ति, राजनीतिक दल तथा व्यापारिक संस्थाहरूले प्रहरीमा निवेदन दिएका छन्।

घटनाको छानबिन गर्न गठित ‘कार्की आयोग’को प्रतिवेदनले पनि क्षतिको भयावह चित्र प्रस्तुत गरेको छ। प्रतिवेदनअनुसार सरकारी कार्यालयबाहेक ६ वटा राजनीतिक दलका कार्यालय, ५१ वटा व्यक्तिका घर, ८६ वटा चारपाङ्ग्रे र १०६ वटा दुईपाङ्ग्रे सवारीसाधनका साथै एउटा सञ्चारगृहमा तोडफोड भएको छ।