राष्ट्रिय औषधि प्रयोगशालालाई अन्तर्राष्ट्रिय ‘आइएसओ’ मान्यता
काठमाडौँ, १७ चैत । राष्ट्रिय औषधि प्रयोगशालाले अन्तर्राष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ (ISO) मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आधिकारिक रूपमा ‘आइएसओ १७०२५ः२०१७’ (ISO 17025:2017) प्रमाणपत्र प्राप्त गरेको हो ।
स्थापनाको ६० वर्षपछि नेपालमा औषधिको परीक्षण गर्ने एक मात्र सरकारी संस्था ‘आइएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले यससँगै प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्डको बनेको र यसले औषधिको गुणस्तर सुनिश्चिततामा थप विश्वसनीयता आर्जन गर्ने बताउनुभयो ।
“प्रयोगशालाको सिङ्गो टोलीको तीन वर्षको अथक मेहनतका कारण यो सफलता प्राप्त भएको हो,” उहाँले भन्नुभयो, “प्रमाणपत्र प्राप्त गर्नका लागि हामीले व्यवस्थापन र गुणस्तरपनमा विशेष काम गरेका छौँ ।”
यस प्रयोगशालाले नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण, विश्लेषण, गुणस्तर नियन्त्रण तथा व्यवस्थापनको काम गर्दै आएको छ । साथै, औषधि व्यवस्था विभाग, निजी क्षेत्रका औषधि उद्योग र विभिन्न सङ्घसंस्थाबाट प्राप्त नमूनाको परीक्षण गर्नुका अतिरिक्त निजी प्रयोगशालाहरूको गुणस्तर जाँच गर्ने जिम्मेवारी पनि यसैको हो ।
त्यसैगरी, नियमनको लेखापरीक्षण, विश्लेषण विधि पुष्टि, सरकारी निकायबाट प्राप्त खोपको प्रमाणीकरण र ‘कुशल प्रयोगशाला अभ्यास’ को निरीक्षण तथा लेखापरीक्षणको काम पनि प्रयोगशालाले गर्दै आएको छ ।
औषधि ऐन, २०३५ को दफा ६ बमोजिम स्थापना भएको यो प्रयोगशाला औषधिको वैज्ञानिक अनुसन्धान, परीक्षण र विश्लेषण गर्ने सरकारको प्रमुख अङ्गका रूपमा रहेको छ ।