कुशल भुर्तेलको सानदार शतक: अमेरिका ९ विकेटले पराजित, नेपालको प्रभावशाली जित

काठमाडौँ, २ जेठ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक शृङ्खलामा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको मद्दतले नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा कुशल भुर्तेलले अविजित १२० रनको योगदान दिए। ११८ बलको सामना गरेका उनले १३ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो एकदिवसीय (ओडिआई) करियरको व्यक्तिगत उच्च स्कोर समेत बनाए। यसअघि उनको व्यक्तिगत उच्च स्कोर ११५ रन थियो।

नेपालका लागि अर्का ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे। बलिङतर्फ अमेरिकाका मोहम्मद मोहसिनले मात्र १ विकेट लिन सके।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिका ४३.३ ओभरमा १९५ रनमा समेटिएको थियो। सुरुमा स्मित पटेल र सेहन जयसूर्याको अर्धशतकको मद्दतले अमेरिका बलियो स्थितिमा देखिएको थियो। एक समय १५३ रनमा मात्र ३ विकेट गुमाएको अमेरिकाले अन्तिम ३७ रन जोड्दा बाँकी ७ विकेट गुमाएपछि मध्यम स्कोरमा खुम्चिन पुग्यो।

अमेरिकाका लागि स्मित पटेलले ८९ बलमा ८३ रन र सेहन जयसूर्याले ५२ बलमा ५० रन बनाए। मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर छुन सकेनन्।

दीपेन्द्रको घातक बलिङ
अमेरिकालाई सस्तैमा रोक्न दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले ९.३ ओभरमा मात्र ३६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुलशन झाले समान १–१ विकेट हात पारे।

पहिलो खेलमा स्कटल्यान्डसँग मात्र २ रनले पराजित भएको नेपालले यो जितसँगै प्रतियोगितामा सानदार पुनरागमन गरेको छ। यो जितले नेपालको अङ्क तालिकामा सुधार ल्याउनुका साथै आगामी खेलहरूका लागि खेलाडीहरूको मनोबल उच्च बनाएको छ।