नेप्सेमा ४५ अङ्कको उछाल : परिसूचक २८०० विन्दु पार, सवा ८ अर्बको कारोबार

काठमाडौं, २५ चैत्र । सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार उत्साहजनक वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अङ्कले घटेको नेप्से यस दिन ४५.१२ अङ्कले बढेर २८०२.५२ विन्दुमा पुगेको छ ।

परिसूचकसँगै बजारमा कारोबार रकम (टर्नओभर) मा पनि उल्लेख्य सुधार आएको छ । मङ्गलबार करिब पौने ७ अर्बको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार कित्ता सेयर ९८ हजार १६२ पटक खरिदबिक्री भएका छन् ।

समग्र बजार बढ्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.७५ अङ्कले र फ्लोट इन्डेक्स २.८९ अङ्कले उकालो लागेको छ ।

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट
बुधबारको बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, सान्भी इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र बन्दीपुर केबलकारको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । अर्कोतर्फ, श्वेत गङ्गा हाइड्रोपावरका लगानीकर्ताले भने यस दिन सर्वाधिक ४.३५ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल अग्रस्थानमा रह्यो । उक्त कम्पनीको सर्वाधिक ४६ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड र शिवम् सिमेन्ट्सको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक बढेर बजारमा पूरै हरियाली छाएको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन र जलविद्युत् उपसमूह साढे २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन् ।