‘आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका निर्णायक’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको प्रमुख साझेदारका रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको मङ्गलबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उद्योगधन्दाको प्रवर्द्धन र आर्थिक समृद्धिको मूल आधार नै सरकार–निजी क्षेत्र साझेदारी भएको बताउनुभयो ।

“आर्थिक समृद्धिबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, “झन्झटरहित सेवा प्रवाह, जनताको जीवनस्तर उकास्ने योजना कार्यान्वयन र सुशासनमार्फत देशलाई अघि बढाउने दायित्व वर्तमान सरकारको काँधमा छ । निजी क्षेत्रको साझेदारीमा सरकारले यी जनअपेक्षा पूरा गर्नुपर्छ ।”

‘युवालाई स्वदेशमै रोजगारी दिऊँ, प्रविधिमा आधारित उद्यममा जोड’
राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको प्रमुख आधार मान्दै राष्ट्रपति पौडेलले स्पष्ट नीति र दिगो रणनीतिले मात्र लगानी विस्तार र रोजगारी सिर्जना हुन सक्ने बताउनुभयो । देशका भविष्य मानिने युवा वर्गलाई स्वदेशमै कामको अवसर जुटाउनु अहिलेको मुख्य आवश्यकता भएको उहाँले औँल्याउनुभयो ।

“आजको प्रतिस्पर्धात्मक युगमा हामीलाई परम्परागत सोचबाट बाहिर निस्केर नवप्रवर्तन र साहसिक निर्णयको आवश्यकता छ,” राष्ट्रपतिले भन्नुभयो, “डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास गर्नु आजको अपरिहार्यता हो ।” उहाँले यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच उचित समन्वय हुनुपर्नेमा समेत जोड दिनुभयो ।

मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणमा नेपाल चेम्बर अफ कमर्सले निर्वाह गरेको भूमिकाको राष्ट्रपति पौडेलले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सरकारबीच उचित समन्वय हुन नसक्दा देशको अर्थतन्त्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो । यद्यपि, अर्थतन्त्र उकास्न र लगानीको वातावरण बनाउन चेम्बरले सरकार र व्यवसायीबीच सेतुको भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी, चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गरी युवालाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशी लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताउँदै अब देशमा राजनीतिक स्थायित्व कायम भई औद्योगिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।