इनरुवा नगरपालिकाद्वारा पूर्वपश्चिम राजमार्गको अतिक्रमित क्षेत्र खाली गराउन सुरु
काठमाडौँ, चैत २९ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउने अभियान सुरु गरेको छ । नगरपालिकाले राजमार्गको मापदण्डभित्र बनाइएका अवैध भौतिक संरचना, थुपारिएका निर्माण सामग्री तथा अव्यवस्थित रूपमा सञ्चालित पसल व्यवसायहरू हटाउन थालेको हो। प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका अनुसार नगरपालिकाले पटक-पटक सार्वजनिक सूचना जारी गर्दा पनि सडक क्षेत्र खाली नगरेपछि डोजर प्रयोग गरी हटाउनु परेको हो।
नगरपालिकाले पछिल्लो पटक यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गर्न सात दिने अल्टिमेटम सहितको सूचना जारी गरेको थियो। नगरप्रमुख केदार भण्डारीले सूचनाको पूर्णतः बेवास्ता भएपछि नगरपालिका आफैँ अग्रसर भएर सडक क्षेत्र खाली गराउने कार्य सुरु गरेको जानकारी दिनुभयो।
राजमार्ग खण्ड अन्तर्गत इनरुवा बसचोकदेखि सुखुवागाछीसम्म जथाभावी कवाडी व्यवसाय सञ्चालन गर्ने, निर्माण सामग्री राख्ने र सडक पेटी मिचेर पसलका सामान राख्ने प्रवृत्तिले आवतजावतमा अवरोध हुनुका साथै सहरको स्वरूप कुरुप बनेको जनगुनासो आएपछि यो कदम चालिएको नगरप्रमुख भण्डारीले बताउनुभयो।
नगरपालिकाको यस कार्यलाई स्थानीयले स्वागत गर्दै अभियानलाई निरन्तरता दिन माग गरेका छन्। साथै, मुख्य बजार क्षेत्रमा समेत सडक अतिक्रमण गरेर व्यवसाय सञ्चालन गर्ने र भौतिक संरचना निर्माणका सामग्री राख्ने कार्य भइरहेकाले ती क्षेत्रमा पनि तत्काल कडाइ गर्न स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।