कार्यवाहक प्रमुखले घर फर्काइन पार्वती : तीन दशकपछि संग्रहालयको बाकसबाट आफ्नै ‘आसन’ मा महागौरी
काठमाडौँ— सन् १९९० को दशकतिरको कुनै एक रात। मरुस्थित सूर्यमुखी महादेव मन्दिर परिसरबाट एउटा कलात्मक प्रस्तर मूर्ति गायब भयो। १३ औँ शताब्दीमा कुँदिएको त्यो नृत्य भावको महागौरी (पार्वती) को मूर्ति केवल ढुङ्गाको आकृति थिएन, त्यो त मरुबासीको आस्था र प्राचीन कालिगढको कौशलको संगम थियो।
चोरिएर सात समुद्र पार लन्डन पुगेको त्यो मूर्ति सन् १९९६ (२०५२ साल) मा नेपाल त फर्कियो, तर आफ्नो घर (मन्दिर) जान पाएन। सुरक्षाको कारण देखाउँदै त्यसलाई राष्ट्रिय संग्रहालय, छाउनीको जुद्धजातीय कलाशालाको एउटा कुनामा सीमित गरियो। तीन दशकसम्म त्यो मूर्तिले काँचको घेराभित्र बसेर आगन्तुकहरूलाई त हेरिरह्यो, तर आफ्नै आँगनको त्यो चिरपरिचित सुगन्ध र भक्तहरूको सामीप्य पाउन सकेको थिएन।
बिहीबार, विश्व सम्पदा दिवसको अवसर पारेर ती ‘निर्वासित’ देवीले अन्ततः आफ्नो प्राचीन आसनमा पुनः विराजमान हुने सौभाग्य पाइन्।
“संग्रहालयमा होइन, समुदायमा हुनुपर्छ देवता”
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको एउटा भनाइले यो फिर्ता प्रक्रियाको मूल मर्मलाई प्रष्ट पार्छ— “काठमाडौँ आफैँमा एउटा खुला संग्रहालय हो । हाम्रा प्राचीन मूर्तिहरूमा पूर्खाको अद्वितीय सीप र ज्ञान कुँदिएको हुन्छ। यस्ता कलाकृतिलाई बन्द संग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ ।”
औपचारिक कार्यक्रम गरेर कार्यक्रम मनाउनुभन्दा सम्पदा दिवसका दिन प्राचीन मूल्य, धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता स्थापित गर्ने कार्यक्रम गर्ने योजना अनुरुपमा समुदायको जिम्मेवारीमा मूर्ति पुनस्थापित गरिएको कार्यवाहक प्रमुखले प्रतिक्रिया दिनुभयो । ‘काठमाडौँ खुला संग्रहालय हो । यहाँ कला कौशल मात्र होइन । सांकेतिक रुपमा ज्ञान, विज्ञान र जीवनसँग सम्बन्धित शिक्षा अध्ययन पाइन्छ । यस्ता महत्वका आकृति तथा कलाकृति समाजमै राख्नुपर्छ । समुदायमै सुरक्षित हुने वातावरण बनाउनुपर्छ भनेर पुनःस्थापित गर्ने निर्णय गरेका हौँ ।’ उहाँको भनाइ थियो ।
हुन पनि, विश्वका धेरै देशमा सम्पदालाई सजावटको वस्तु मानिन्छ, तर नेपालमा ती जीवन्त संस्कृति र आस्थाका केन्द्र हुन्। छाउनी संग्रहालयबाट ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको त्यो मूर्ति बुझेर ल्याउँदै गर्दा महानगरका पदाधिकारी र अभियन्ताहरूको अनुहारमा एउटा ठुलो युद्ध जितेको जस्तो चमक देखिन्थ्यो।
एउटा औपचारिक मात्र होइन, भावुक पुनर्मिलन
विश्व सम्पदा दिवस (अप्रिल १८) धेरैका लागि सभा–सेमिनार गर्ने दिन होला। तर, वडा नं. २० मरुबासीका लागि यो पुनर्मिलनको उत्सव बन्यो। संग्रहालयका अधिकारीहरूले मुचुल्का उठाएर मूर्ति बुझाउँदा र स्थानीयले बाजागाजासहित स्वागत गर्दा मरु क्षेत्रको वातावरण भावुक र उत्साहपूर्ण देखिन्थ्यो।
सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीको लामो पैरवी अनि महानगरको सक्रियताले यो सम्भव भएको हो। वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर ढुक्क देखिनुहुन्छ, उहाँ भन्नुहुन्छ— “हाम्रो सम्पत्तिको सुरक्षा अब स्थानीय समुदायले नै गर्नेछ। हाम्रा देवता आफ्नै घरमा सुरक्षित हुनुहुन्छ।”
‘ओपन म्युजियम’ को नयाँ अवधारणा
यो घटना केवल एउटा मूर्ति सार्ने काम मात्र होइन, यो त काठमाडौँ महानगरपालिकाले अघि सारेको ‘खुला संग्रहालय’ को अवधारणाको एउटा बलियो कडी हो। महानगरले हनुमानढोका दरबार क्षेत्रको संरक्षणका लागि एक शक्तिशाली समिति समेत गठन गरेको छ, जसमा पुरातत्व विभाग, गुठी संस्थान र सुरक्षा निकायको सहभागिता छ।
हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेलको संयोजकत्वमा बनेको अध्ययन समितिले अब त्यस क्षेत्रको सम्पदालाई कसरी जीवन्त राख्ने र आगन्तुकका लागि कस्तो मर्यादा कायम गर्ने भन्नेबारे काम थाल्नेछ।
सम्पदा दिवसको असली अर्थ
सन् १९८२ देखि युनेस्कोले मनाउन थालेको विश्व सम्पदा दिवस नेपालमा २०१० बाट मात्र औपचारिक रूपमा मनाउन थालिएको हो। तर, यस वर्ष मरुमा देखिएको दृश्यले के सिद्ध गरेको छ भने— सम्पदा दिवस केवल पुराना ढुङ्गा र इँटाको पूजा गर्ने दिन होइन, यो त इतिहासका हराएका पानाहरूलाई वर्तमानसँग जोड्ने र पूर्खाको नासोलाई सन्ततिका लागि सुरक्षित रूपमा हस्तान्तरण गर्ने दिन हो।
संग्रहालयको मौनताबाट निस्किएर फेरि भक्तहरूको भजन र दियोको प्रकाशमा फर्किएकी ती महागौरीको मुस्कानले भनिरहेको भान हुन्थ्यो— “हो, म अब आफ्नै घर आइपुगेँ।”

