घान्द्रुकमा पर्यटकीय सप्ताहान्त, दैनिक १,२०० पर्यटक, मौलिकता जोगाउन गाउँपालिकाको चासो

कास्की, ८ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित रमणीय पर्यटकीय गाउँ घान्द्रुकमा दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यका रूपमा रहेको यस गाउँमा यतिबेला पदयात्री र प्रकृतिप्रेमीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार सप्ताहान्त (शुक्रबार र शनिबार) मा घान्द्रुकमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक पुग्ने गरेका छन् । “अन्य दिनमा पनि औसत छ–सात सय पर्यटक भित्रिरहेका छन्,” उहाँले भन्नुभयो, “सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि पर्यटकीय गतिविधि अझै बढ्ने हाम्रो अपेक्षा छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायका अनुसार यस क्षेत्रमा विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीयहरूको सङ्ख्या रहेको छ । यो याममा एकैदिन ८५६ जनासम्म विदेशी पर्यटकले घान्द्रुकको भ्रमण गरेका छन् । सडकको पहुँच सहज भएसँगै नेपाली पर्यटकका लागि पनि घान्द्रुक पहिलो रोजाइको गन्तव्य बनेको छ ।

पर्यटकको आगमन बढेसँगै घान्द्रुकमा अर्बौँको लगानीमा होटल र रिसोर्टहरू खुल्ने क्रम जारी छ । तर, आधुनिक कङ्क्रिटका संरचनाहरूले गाउँको प्राचीन र मौलिक स्वरूप बिगार्न थालेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको पहिचान जोगाउन गाउँपालिकाले विशेष नीति ल्याउन लागेको जानकारी दिनुभयो । “हामी यहाँको मौलिकता जोगाउन चाहन्छौँ,” वडाध्यक्ष गुरुङले भन्नुभयो, “परम्परागत सामग्री र शिल्प प्रयोग गरेर घर निर्माण गर्ने स्थानीयलाई गाउँपालिकाले अनुदान दिने योजना बनाएको छ ।”

विसं २०२६ तिर स्थानीय शङ्करमान गुरुङले जग बसाल्नुभएको घान्द्रुकको पर्यटन अहिले विश्वभर परिचित छ । हाल यहाँ ८० वटा होटल/रिसोर्ट र ३५ वटा घरबास (होमस्टे) सञ्चालनमा छन् । अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी जोड्ने पदमार्गमा पर्ने भएकाले पनि घान्द्रुकलाई महत्वपूर्ण विश्रामस्थलका रूपमा लिइन्छ ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको काखमा रहेको यो गाउँ पुग्न पोखराबाट मोटरमा दुई घण्टा लाग्छ भने नयाँपुलबाट पाँच–छ घण्टाको पदयात्रा गरेर पनि पुग्न सकिन्छ । स्थानीय संस्कृति, गुरुङ समुदायको रहनसहन र हिमाली दृश्यको अनुपम सङ्गमले घान्द्रुकलाई सधैँ गुञ्जायमान राखेको छ ।