कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको बाक्लो उपस्थिति : मौलिकता जोगाउन स्थानीयको जोड

काठमाडौँ, वैशाख ८ । दोस्रो मुख्य पर्यटकीय मौसम सुरु भएसँगै कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको काखमा अवस्थित यस क्षेत्रमा यतिबेला पर्यटकहरूको आगमन बाक्लिएको हो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार हाल सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटकहरू घान्द्रुक पुग्ने गरेका छन् । अन्य दिनमा पनि औसत छ सयदेखि सात सय पर्यटक भित्रिरहेको उहाँले जानकारी दिनुभयो । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेमा पर्यटकीय गतिविधि अझै बढ्ने अपेक्षा व्यवसायीहरूको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यस क्षेत्रमा विशेषगरी भारतीय पर्यटकहरूको आकर्षण बढेको छ । एक्यापको इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले पछिल्लो समय एकै दिन ८५६ जनासम्म विदेशी पर्यटकले घान्द्रुक क्षेत्रको भ्रमण गरेको बताउनुभयो । सडक पहुँचको विस्तारले आन्तरिक पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ ।

तथापि, पर्यटनको विकाससँगै घान्द्रुकको मौलिक स्वरूप हराउँदै गएकोमा स्थानीय जनप्रतिनिधि र अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले तीव्र रूपमा भइरहेको आधुनिक कङ्क्रिटका संरचनाको निर्माणले गाउँको प्राचीन पहिचान संकटमा परेको बताउनुभयो । घान्द्रुकको मौलिकता र संस्कृति जोगाउन गाउँपालिकाले परम्परागत निर्माण सामग्री र शिल्प प्रयोग गरी घर बनाउने स्थानीयलाई अनुदान दिने नीति ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

वि.सं. २०२६/२७ देखि पर्यटनको जग बसेको घान्द्रुकमा हाल अर्बौँको लगानीमा ८० वटा सुविधायुक्त होटल र ३५ वटा घरबास (होमस्टे) सञ्चालनमा छन् । अन्नपूर्ण आधार शिविर र घोरेपानी पदमार्गको संगमस्थलका रूपमा रहेको घान्द्रुक पोखराबाट मोटरमा दुई घण्टा र पदयात्रा गरी करिब ६ घण्टामा पुग्न सकिन्छ ।

प्राकृतिक सौन्दर्य र गुरुङ संस्कृतिको केन्द्र मानिने घान्द्रुकलाई विश्वभरका पर्यटकमाझ थप आकर्षक बनाउन स्थानीय व्यवसायी र सरोकारवाला निकायहरूले ‘सबै मौसममा पर्यटन’ भन्ने मूल नाराका साथ काम गरिरहेका छन् ।