तराईमा तातो हावाको लहर (लु) चल्ने सम्भावना, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ८ वैशाख । नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसममा विविधता देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा तातो हावाको लहर (लु) चल्ने र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार आज मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका साथै विभिन्न उपत्यका र खोँचहरूमा अत्यधिक गर्मी (तातो दिन) हुने सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो हावाको लहर (लु) चल्न सक्ने देखिएकाले बढ्दो गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी, आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदली रहनेछ। देशका बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

आज राति देशका पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली भेगमा आंशिक बदली हुनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बढ्दो तापक्रम र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले मौसमी सूचनाप्रति अद्यावधिक रहन र लू (तातो हावा) बाट बच्न आवश्यक पूर्वतयारी गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *