पूर्वाधार निर्माणका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल राति सात घण्टा बन्द हुने

काठमाडौँ,  वैशाख ८ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म विमानस्थल दैनिक सात घण्टा बन्द गरिने भएको छ । विमानस्थलको धावनमार्गसँगै जोडिएको ट्याक्सीवेमा जारी ‘पेभमेन्ट कन्स्ट्रक्सन’को कामलाई प्रभावकारी बनाउन रात्रिकालीन उडान र अवतरण बन्द गर्न लागिएको हो ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार निर्माण कार्यका लागि राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द रहनेछ । धावनमार्गको संवेदनशील क्षेत्रमा काम भइरहेकाले सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल बन्द गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा निर्माण प्रक्रियालाई गति दिन र तोकिएको समयमै काम सम्पन्न गर्न यो निर्णय गरिएको उल्लेख छ । यस अवधिमा हुन सक्ने उडान प्रभावित हुने जोखिमलाई मध्यनजर गर्दै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आफ्नो उडान तालिका सोहीअनुसार परिमार्जन र व्यवस्थापन गर्न कार्यालयले आग्रह गरेको छ ।

पूर्वाधार स्तरोन्नतिसँगै विमानस्थलको क्षमता र सुरक्षा स्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ ।