नवलपुरको पहाडी क्षेत्रमा विद्युतीकरणमा ढिलाइ : संरचना बने पनि स्थानीय अँध्यारोमा

काठमाडौँ, वैशाख ८ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पहाडी क्षेत्रमा विद्युत् विस्तारका लागि आवश्यक पोल र तार जडान गरिएको एक वर्ष बितिसक्दा पनि स्थानीय बासिन्दा अझै राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट वञ्चित छन् । जिल्लाको बुलिङटार गाउँपालिका अन्तर्गतका अर्खला, देउराली लगायतका गाउँहरूमा विद्युतीय संरचना निर्माण सम्पन्न भइसके पनि विद्युत् वितरण हुन नसक्दा स्थानीयमा निराशा छाएको छ ।

बुलिङटार गाउँपालिका-४ का वडाध्यक्ष मीनबहादुर आलेका अनुसार अर्खला क्षेत्रमा तार र पोल गाडिएको वर्ष दिन नाघिसकेको छ । देउरालीका बासिन्दाले त विद्युत् मिटर जडानका लागि आवश्यक शुल्क समेत बुझाइसकेका छन्, तर हालसम्म बिजुली बाल्न पाएका छैनन् । नजिकैको बोझा पोखरीमा विद्युत् सबस्टेसन सञ्चालनमा रहे पनि करिब ७–८ किलोमिटर दूरीमा रहेका यी गाउँहरू अझै अँध्यारोमा बस्न बाध्य छन् ।

हाल यी क्षेत्रका बासिन्दा लघु जलविद्युत्मा निर्भर छन् । तर, उक्त लघु जलविद्युत् रातिको समयमा मात्र सञ्चालन हुने र सीमित क्षमताको हुने भएकाले दिउँसोको समयमा वडा कार्यालयको कामकाज समेत प्रभावित हुने गरेको वडाध्यक्ष आलेले बताउनुभयो । “दिउँसो वडा कार्यालयमा सोलारको भर पर्नुपर्छ, बादल लागेको दिन प्रविधिमा आधारित सेवाहरू ठप्प हुन्छन्,” उहाँले भन्नुभयो ।

विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले निर्माण व्यवसायीको लापर्वाहीका कारण विद्युत् विस्तारमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको यस आयोजनाको जिम्मा युनिकर्न कन्स्ट्रक्सनले पाएको थियो ।

केही स्थानमा पहिरोले पोलहरूमा क्षति पुर्‍याएकाले हाल पुनः बजेट विनियोजन गरी मर्मत कार्य अगाडि बढाइएको प्रमुख गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार ठेकेदार कम्पनीलाई निरन्तर ताकेता भइरहेको र अबको केही समयभित्रै देउराली, अर्खला र सिङ्च्याङ हुँदै कालीगण्डकी करिडोरको कोखेटारसम्म विद्युत् सेवा पुर्‍याउने गरी तयारी भइरहेको छ ।