सिरहा कारागारभित्र कैदीबन्दीबीच विवाद : चौकीदार हटाउन खोज्ने २२ जना नियन्त्रणमा, अन्यत्रै सार्ने तयारी
सिरहा, ८ बैशाख । सिरहा जिल्ला कारागारभित्र कैदीबन्दीबीच पुनः विवाद र तनाव उत्पन्न भएपछि प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयासस्वरूप अशान्ति फैलाएको आरोपमा उनीहरूलाई शनिबार बिहानै नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार, दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि विवाद सुरु भएको थियो । कारागारभित्र गुटबन्दी बढेर सम्भावित झडपको स्थिति सिर्जना भएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले बिहानै विशेष ‘अप्रेसन’ चलाएको जानकारी दिनुभयो ।
“केही कैदीबन्दीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिने उद्देश्यले चौकीदारलाई निष्कासनको प्रयास गरेपछि सुरक्षा चुनौती बढेको थियो,” डीएसपी पालले भन्नुभयो, “थप झडप र अप्रिय घटना हुन नदिन हामीले २२ जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी अन्य जिल्लाका कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।”
सिरहा कारागार बेलाबेलामा विवाद र सुरक्षा कमजोरीका कारण चर्चामा आइरहन्छ । यसअघि गत माघ महिनामा कारागारभित्रै कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि ठूलो हल्लीखल्ली मच्चिएको थियो ।
त्यतिबेला तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्य कारागारमा सारिएको थियो । यादवलाई पक्राउ गरिएको विरोधमा त्यतिबेला कैदीबन्दीहरूले दुई दिनसम्म कारागारभित्रै प्रदर्शन र नाराबाजी गरेका थिए । अहिले फेरि अर्को गुटले चौकीदारमाथि निशाना साँधेपछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उब्जिएको छ ।