विश्वभर मानव अधिकारको अवस्था चिन्ताजनक : एम्नेस्टीको प्रतिवेदन सार्वजनिक

काठमाडौं, ८ बैशाख । मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘एम्नेस्टी इन्टरनेसनल नेपाल’ ले सन् २०२५/२६ को विश्वव्यापी मानव अधिकारको अवस्थासम्बन्धी आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले विश्वभर मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनमाथि गम्भीर आक्रमण भइरहेको देखाउँदै अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा शक्तिशाली राष्ट्रहरू, ठूला निजी व्यावसायिक क्षेत्र र अधिकारविरोधी आन्दोलनहरूद्वारा बहुपक्षीयता, अन्तर्राष्ट्रिय कानुन र आधारभूत मानव अधिकारमाथि सुनियोजित रूपमा आक्रमण भइरहेको औँल्याइएको छ ।

प्रतिवेदनले विश्वका १४४ देशको मानव अधिकारको अवस्थालाई समेटेको छ । जसमा अन्तर्राष्ट्रिय कानुनविपरीतका अपराधहरू, नरसंहार, मानवता विरुद्धका अपराध र युद्ध अपराधहरू बढिरहेको उल्लेख छ । यसका साथै, हतियारको गैरजिम्मेवारपूर्ण उत्पादन तथा ओसारपसार र दण्डहीनताले विश्वभर मानव अधिकारको अवस्थालाई थप सङ्कटपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, विश्वभर जातीय विभेद, लैङ्गिकतामा आधारित हिंसा, वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज र शरणार्थी तथा आप्रवासीहरूको अधिकार उल्लङ्घनका घटनाहरू निरन्तर बढिरहेको विषयप्रति एम्नेस्टीले गहिरो चिन्ता व्यक्त गरेको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले विश्वव्यापी रूपमै मानव अधिकारको अवस्था खस्कँदै गएको बताउनुभयो । “शक्तिशाली देशहरूको स्वार्थ र दण्डहीनताका कारण मानव अधिकारको रक्षा गर्ने अन्तर्राष्ट्रिय संयन्त्रहरू कमजोर बन्दै गएका छन्, यो अवस्था विश्वभरका नागरिकका लागि गम्भीर चिन्ताको विषय हो,” उहाँले भन्नुभयो ।