भोजपुर गोल्डकप: केपिलासगढीलाई हराउँदै सातदोबाटो युथ क्लब सेमिफाइनलमा
काठमाडौँ, वैशाख ८ । भोजपुरमा जारी प्रतिष्ठित ‘भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत मंगलबार सम्पन्न खेलमा सातदोबाटो युथ क्लब ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ । केपिलासगढी गाउँपालिका खोटाङलाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै सातदोबाटोले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
भोजपुर नगरपालिका-७ स्थित कोदार रङ्गशालामा भएको खेलमा सातदोबाटोका लागि विकास दर्लामी मगर (जर्सी नम्बर १८), समिर तामाङ (जर्सी नम्बर ६) र प्रज्जवल चौधरी (जर्सी नम्बर ३३) ले समान १-१ गोल गरे । विपक्षी केपिलासगढीका तर्फबाट भने कुनै गोल हुन सकेन ।
प्रतियोगिताको अर्को खेलबारे जानकारी दिँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बुधबारको अन्तिम क्वाटरफाइनल खेल काठमाडौँको प्लानिङ ब्वाइज युनाइटेड र उदयपुरको द गोर्खाज फुटबल क्लबबीच हुने बताउनुभयो ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको ३० लाख रुपैयाँ मुख्य प्रायोजनमा गत वैशाख ६ गतेदेखि यो प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा–११, सातदोबाटो युथ क्लब ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र द गोर्खाज फुटबल क्लब उदयपुर गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि व्यक्तिगत विधामा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।