झापामा अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु : ६ जना घाइते
झापा, ८ वैशाख । झापाको कनकाई नगरपालिका-३ स्थित नयाँबस्तीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १-०१-००१ ह ८२५२ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी हल्दिवारी गाउँपालिका-३ की ६८ वर्षीया मन्जुधरी ढकालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, अनियन्त्रित भई भएको सो दुर्घटनामा घाइते भएका सातै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा ढकालको अपराह्न ४:३५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा परी हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भिमा ढकाल र १३ वर्षीय रोजन ढकाल घाइते भएका छन् । यसैगरी अटोमा सवार १३ वर्षीय प्रदीप नेपाल र मोरङ मिक्लाजुङ-६ का ३७ वर्षीय मोटरसाइकल चालक चन्द्रबहादुर खत्री पनि घाइते भएका छन् । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले दुर्घटनामा संलग्न अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी-३ का ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।