टि–२० श्रृङ्खला: सन्दीपको घातक बलिङमा युएई १२८ रनमा रोकियो, नेपाललाई १२९ रनको लक्ष्य

काठमाडौँ, ८ वैशाख । अन्तर्राष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट श्रृङ्खलाअन्तर्गत आज भइरहेको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि १२९ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनको योगफल तयार पारेको हो ।

युएईको सुरुआत निकै खराब रह्यो । ओपनर एवं कप्तान मुहम्मद वसीम खेलको पहिलो बलमै शून्य रनमा आउट भएपछि टोली दबाबमा परेको थियो । त्यसलगत्तै अलिशान शरफु र हरप्रीत सिंह समान १–१ रनमा पभेलियन फर्किएपछि युएईले सस्तैमा महत्त्वपूर्ण विकेट गुमाएको थियो ।

तर, मध्यक्रममा अदीब उस्मानी र अक्षदीप नाथले इनिङ्स सम्हाल्ने प्रयास गरे । उस्मानीले २२ बलमा ३० रन जोडे भने अक्षदीप नाथले विष्फोटक ब्याटिङ गर्दै ४२ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५३ रनको योगदान दिए । यस्तै मुहम्मद अरफानले ३२ रन जोड्दा मुहम्मद जुहैब ८ रनमा अविजित रहे ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले अत्यन्तै किफायती र उत्कृष्ट बलिङ गरे । उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र ६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए । त्यस्तै, तीव्र गतिका बलर हेमन्त धामीले २ विकेट चट्काउँदा नन्दन यादव र शाहब आलमले १–१ विकेट हात पारे ।

नेपाल अहिले १२९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ । घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले यो लक्ष्य सहजै पुरा गरी श्रृङ्खलामा पकड बनाउने अपेक्षा गरिएको छ ।