सुनसरीमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि प्रशासनद्वारा कडाइ, वैशाख १४ सम्म ओसारपसारमा प्रतिबन्ध
काठमाडौँ, वैशाख ८ । सुनसरीका विभिन्न स्थानमा ‘एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) को सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले रोग नियन्त्रणका लागि सुरक्षात्मक उपायहरूमा कडाइ गरेको छ । जिल्लाको इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी नगरपालिका र गढी गाउँपालिकाका विभिन्न कुखुरा फार्महरूमा ‘एच फाइभ एन वान’ भाइरस पुष्टि भएपछि प्रशासनले सतर्कता बढाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले आज एक सूचना जारी गर्दै बर्डफ्लु मानिसमा समेत सर्न सक्ने उच्च जोखिम रहेकाले ‘बर्डफ्लु नियन्त्रण नियमावली, २०७८’ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रविन्दु मानी चार किलोमिटर क्षेत्रलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएको जानकारी दिनुभयो । रोगको थप विस्तार रोक्न सो क्षेत्रमा तत्काल नियन्त्रणका आवश्यक प्रक्रियाहरू अघि बढाइएको छ ।
प्रशासनले वैशाख १४ गतेसम्मका लागि जिल्लाभर कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थहरू (अण्डा र मासु) को ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । सङ्क्रमित क्षेत्रबाट अन्यत्र लैजान तथा अन्य जिल्लाबाट सुनसरीभित्र यस्ता सामग्री भित्र्याउन रोक लगाइएको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । प्रशासनले सम्पूर्ण जिल्लावासी, कृषक र व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन र नियन्त्रण अभियानमा सहयोग गर्न अपिल गरेको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार सङ्क्रमण पुष्टि भएका विभिन्न फार्मका हजारौँ कुखुरा र अण्डा नष्ट गरिएको छ । इटहरी-१९ स्थित ओकेओ कृषि प्रालिका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको छ । यस्तै, गढी-५ को सञ्जित कृषि फार्म, इटहरी–११ को आलम कृषि फार्म, इटहरी-१८ को रानी कृषि फार्म र इटहरी-१७ को लक्ष्मी पोल्ट्री फार्ममा गरी हजारौँको सङ्ख्यामा कुखुरा र अण्डा नष्ट गरिएको छ ।
यसैबीच, सोमबार मात्रै सुनसरीको रामधुनी नगरपालिका–६ स्थित एक व्यावसायिक फार्ममा पालिएका करिब एक लाख ५० हजार ‘लेयर्स’ कुखुरामा सङ्क्रमण पुष्टि भएपछि ती सबैलाई सुरक्षित रूपमा नष्ट गरिएको छ । गत चैत ११ गते जिल्लामा पहिलोपटक सङ्क्रमण देखिए यता प्रशासनले प्रभावित क्षेत्रका खोरहरू सफा गर्ने र सङ्क्रमित पक्षीहरू नष्ट गर्ने कार्यलाई तीव्रता दिँदै आएको छ ।