आगलागी र माटोको उर्वराशक्ति जोगाउन गहुँको नल नजलाउन स्थानीय तहको आग्रह
काठमाडौँ, वैशाख ९ । कैलालीका स्थानीय तहहरूले गहुँ बाली भित्र्याएपछि खेतबारी सफा गर्ने बहानामा आगो नलगाउन किसानहरूलाई विशेष अनुरोध गरेका छन् । खेतबारीमा लगाइने आगोले वातावरणीय प्रदूषण बढाउनुका साथै बस्तीमा आगलागीको जोखिम र माटोको उर्वराशक्तिमा ह्रास ल्याउने भन्दै पालिकाहरूले यस्तो आग्रह गरेका हुन् ।
आगलागीको जोखिम र वातावरणीय असर
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा गहुँ कटानी सम्पन्न भएसँगै किसानहरूले खेतमा रहेका ठुटाहरू (नल) जलाउने गरेका छन् । जानकी गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीका अनुसार यसरी आगो लगाउँदा धनजनको क्षतिका घटना हुनसक्ने भएकाले पालिकाले सूचना नै जारी गरी सचेत गराएको छ ।
जोशीपुर गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरीले आगो लगाउँदा माटोमा रहेका उपयोगी सूक्ष्म जीवहरू मर्ने र माटोको भौतिक, जैविक तथा रासायनिक गुण बिग्रने बताउनुभयो । यसले दीर्घकालमा उत्पादन घट्ने र वायु प्रदूषण बढ्ने उहाँको भनाइ छ ।
पशु आहारका लागि उपयोग गर्न सुझाव
पालिकाले खेतमा आगो लगाएर ‘नगद’ सरहको भुसा नष्ट गर्नुभन्दा पशु आहारका रूपमा प्रयोग गर्न प्रोत्साहन गरेका छन् । जानकी गाउँपालिकाले उक्त भुसा स्थानीय गौशालामा रहेका गाईवस्तुका लागि निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
जोशीपुर गाउँपालिकाले भने किसानको भुसा खरिद गर्ने नीति अघि सारेको छ । पालिकाले भुसाको मूल्य नै तोकेर बञ्जरियास्थित काञ्जी हाउसमा ल्याउन किसानलाई आह्वान गरेको छ ।
सीमित स्रोत र साधनको चुनौती
टीकापुर नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले खेतमा लगाइएको आगो नियन्त्रण बाहिर जाँदा बस्ती नै जोखिममा पर्ने गरेको अनुभव सुनाउनुभयो । “हामीसँग सीमित जनशक्ति र एउटा मात्र दमकल छ, खेतमा लगाइएको आगो निभाउन दमकल परिचालन गर्नुपर्दा अन्य गम्भीर विपद्का बेला समस्या पर्न सक्छ,” उहाँले भन्नुभयो ।
कैलालीका स्थानीय तहहरूले गहुँको नललाई जलाउनुको सट्टा जैविक मल बनाउन वा गौशालामा पशुको आहाराका लागि बिक्री गरी आम्दानी गर्न समेत किसानहरूलाई आग्रह गरेका छन् ।