होस्टेल सुधार अभियानमा कार्यवाहक प्रमुख डङ्गोल : एकै कार्यक्रमबाट व्यवसायिक सुधार र ४० हजार वढी छात्रछात्रालाई लाभ

काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको योजना र नेतृत्वमा महानगरभित्र सञ्चालित छात्रबास (होस्टेल) हरूको व्यापक अनुगमन तथा सुधार प्रक्रिया अघि बढाइएको छ । एकै निर्णय र कदमबाट महानगरका होस्टेलमा बसोबास गर्ने करिब ४० हजार विद्यार्थी तथा पेसाकर्मीहरूको सुरक्षा, स्वास्थ्य र गुणस्तरीय जीवन सुनिश्चित हुने देखिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले कार्यवाहक प्रमुख डङ्गोलको विशेष निर्देशनमा ५ वटा दक्ष टोली परिचालन गरी अनुगमन कार्य सुरु गरेको हो । अनुगमनको क्रममा कार्यवाहक प्रमुख डङ्गोलले ‘एकै पटकको अनुगमनबाट पूर्ण निष्कर्ष निकाल्न’ र राजस्वदेखि गुणस्तरसम्मका सबै सूचकहरूलाई एकमुष्ट हेर्न निर्देशन दिनुभएको छ । “एकै ठाउँमा पटक–पटक जानु नपरोस्, पूर्ण टोलीले सबै पक्षको मसिनो गरी जाँच गरेर मात्र फर्किनू,” उहाँको निर्देशन छ ।

महानगरको तथ्याङ्कअनुसार यहाँका होस्टेलहरूमा ४० हजारभन्दा बढी व्यक्तिहरू आश्रित छन् । यति ठुलो जनसङ्ख्याको दैनिक जीवनसँग जोडिएको क्षेत्रलाई व्यवस्थित बनाउन महानगरले ‘छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८०’ कडाइका साथ लागू गर्न खोजेको हो । यस अभियानले स्तरीय होस्टेललाई कानुनी दायरामा ल्याउने, कमजोरलाई सुधारको मौका दिने र आधारभूत मापदण्ड समेत पूरा नगर्नेलाई बन्द गराई आश्रितहरूको हित रक्षा गर्ने लक्ष्य राखेको छ ।

यसरी हुँदैछ अनुगमन र सुधार:
शिक्षा अधिकृतहरूको नेतृत्वमा गठित अनुगमन टोलीमा वडा जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, खाद्य प्रविधिज्ञ र राजस्व विभागका प्रतिनिधिहरू सामेल छन् । टोलीले विशेष गरी ५ पक्षलाई प्राथमिकतामा राखेको छ ।

१. मापदण्ड र दर्ता : महानगरको ऐन र मापदण्डअनुसार दर्ता भए/नभएको 
२. गुणस्तरीय पूर्वाधार : कोठाको प्रकाश, हावा आवतजावत (भेन्टिलेसन), र व्यक्तिगत स्थान (दराज, पलङ, टेबल) को उपलब्धता 
३. स्वास्थ्य र स्वच्छता : शौचालय, भान्छाको अवस्था र खानेपानीको शुद्धता 
४. सुरक्षा : आगलागी नियन्त्रणका उपकरण (फायर एक्स्टिङ्ग्युसर) र सीसीटीभी क्यामराको व्यवस्था 
५. सामाजिक मर्यादा : मदिरा तथा सुर्तीजन्य पदार्थ निषेध र ३० वर्ष पूरा भएको अभिभावकीय वार्डेनको व्यवस्था 

महानगरपालिकाका शिक्षा अधिकारी नमराज ढकालका अनुसार अनुगमनपछि मापदण्ड पुगेकालाई तत्कालै दर्ता अनुमति दिइनेछ भने छात्र–छात्राका होस्टेलबीच कम्तीमा २०० मिटरको दुरी हुनुपर्ने लगायतका सुरक्षाका मापदण्डहरूलाई कडाइ गरिनेछ ।

होस्टेल क्षेत्रमा रहेका बेथिति अन्त्य गरी मर्यादित र सुरक्षित बसोबासको वातावरण सिर्जना गर्ने महानगरको यो कदमले हजारौँ युवाहरूको शैक्षिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । यस कार्यलाई होस्टेल व्यवसायी संघ र एशोसिएसनले समेत व्यावसायिक गरिमा बढ्ने भन्दै स्वागत गरेका छन् ।