आदिकविको जन्मभूमिमा ‘भानु साहित्य उद्यान’ निर्माण सुरु : नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाइने
काठमाडौँ, बैशाख १४ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले ‘भानु साहित्य उद्यान’ को निर्माण कार्य प्रारम्भ गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको यो उद्यान राष्ट्रपति रामचन्द्र पौडेलको विशेष परिकल्पना र पहलमा कार्यान्वयनमा आएको हो । भानु नगरपालिका–४ मा निर्माण हुने यस उद्यानले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूबीच भावनात्मक एकता कायम गर्नुका साथै साहित्यिक पर्यटनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीका अनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको छ । नगर उपप्रमुख उमा गोतामेले शहरी विकास मन्त्रालयबाट विनियोजित रु २० करोडको बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु गरिएको जानकारी दिनुभयो ।
उद्यानको गुरुयोजना र संरचना:
गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक सुविधायुक्त ‘भानु भवन’ निर्माण गरिनेछ । यसैगरी, उद्यानमा सातै प्रदेशका प्रमुख साहित्यिक, धार्मिक एवं सांस्कृतिक सम्पदाका नमुनाहरू र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको शालिक स्थापना गर्ने योजना रहेको छ ।
नेपाली भाषाको एकीकरणमा अतुलनीय योगदान पुर्याउनुभएका भानुभक्त आचार्यले रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली जनजीवनलाई भाषिक सूत्रमा बाँध्ने ऐतिहासिक कार्य गर्नुभएको थियो । उहाँको सोही योगदान र राष्ट्रिय एकताको जगलाई जीवन्त राख्न निर्माण गर्न लागिएको यस उद्यानले आगामी पुस्ताका लागि अनुसन्धान र प्रेरणाको केन्द्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।