जनताको जीवन बचाउने जनशक्ति उत्पादन गर्दै कार्यवाहक प्रमुख डंगोल : ८ सय जना प्राथमिक उपचारकर्ता तयार हुँदै
काठमाडौँ, १० वैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरवासीको दैनिक जीवन, सुरक्षा र स्वास्थ्य सहजतालाई प्राथमिकतामा राख्दै टोल–टोलमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानलाई तीव्रता दिनुभएको छ । ‘जनताको जीवन बचाउने’ मूल उद्देश्यका साथ महानगरले हाल ८ सय जना दक्ष प्राथमिक उपचारकर्ता तयार पार्ने लक्ष्यसहित वडास्तरमा तालिम सञ्चालन गरिरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको प्राविधिक सहकार्यमा सञ्चालित यस कार्यक्रमले विपद् वा दुर्घटनाका समयमा अस्पताल पुर्याउनुअघि नै घाइतेको जीवन जोगाउन सक्ने स्थानीय जनशक्ति उत्पादन गर्ने विश्वास लिइएको छ ।
‘सिप अरूका लागि, सेवा मानवताका लागि’
हालै वडा नं. १७ स्थित कन्या माध्यमिक विद्यालयमा आयोजित तालिमको समापन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “सिप सिक्नु आफैँमा गौरवको विषय हो । रेडक्रसले हामीलाई आफूभन्दा बढी अरूका लागि बाँच्न र सेवा गर्न सिकाउँछ । यो प्राथमिक उपचारको सिप पनि आफूलाई कम र अरूलाई धेरै काम लाग्ने मानवतावादी सिप हो ।” उहाँले अगाडि थप्नुभयो, “हाम्रो चाहना यस्तो सिप प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्ने हो, तर आपतकालीन अवस्था आइलागेमा कोही पनि पछाडि हट्न नपरोस् भन्ने हाम्रो तयारी हो ।”
के सिक्छन् त प्रशिक्षार्थीले
यो तालिम केवल सैद्धान्तिक मात्र नभई पूर्णतः प्रयोगात्मक रहेको छ । प्रशिक्षक राजाराम श्रेष्ठका अनुसार सहभागीहरूलाई दुर्घटनास्थलमा घाइतेको प्रारम्भिक जाँच गर्ने, मुटु र श्वासप्रश्वास बन्द भएको अवस्थामा दिइने ‘सीपीआर’ (CPR), रक्तश्राव नियन्त्रण, हड्डी भाँचिएको वा मर्किएको अवस्थामा गरिने प्राथमिक उपचार, र घाँटीमा केही अड्किएमा निकाल्ने विधिका बारेमा सिकाइन्छ ।
यसका साथै आगोले पोलेको, सर्प वा कुकुरले टोकेको, करेन्ट लागेको, पानीमा डुबेको र विषाक्तता भएको अवस्थामा अस्पताल पुर्याउनुअघि गरिने जीवनदायी उपायहरूका बारेमा समेत तालिम दिइएको छ । यसरी प्राप्त हुने प्रमाणपत्र नेपालसहित विश्वका १९२ देशमा मान्य हुने महानगरले जनाएको छ ।
समुदायस्तरमा स्वास्थ्य सेवाको विस्तार
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बदलिँदो परिवेशमा दुर्घटनाका प्रकृति पनि फरक हुँदै गएकाले सोहीअनुसारको क्षमता विकास आवश्यक रहेको बताउनुभयो । यस्तै, स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. ले करदाताले तिरेको करलाई नागरिककै स्वास्थ्य सेवाको पहुँच र स्तर वृद्धिमा खर्च गरिरहेको जानकारी दिनुभयो । उहाँले महानगरले स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा प्रयोगशालासहितका सुविधा थपेर स्वास्थ्य सेवालाई गुणस्तरीय बनाइरहेको उल्लेख गर्नुभयो ।
तालिममा १६ देखि ६५ वर्ष उमेर समूहका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको छ । विशेष गरी महिलाहरूको उल्लेख्य सहभागिताले घरायसी र सामुदायिक तहमा आइपर्ने साना–ठूला दुर्घटनामा तत्काल सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले महानगरसँगको यो साझेदारीले विपदका समयमा ठूलो मानवीय क्षति हुनबाट जोगाउने र दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गर्ने बताउनुभयो । तालिममा सहभागी प्रशिक्षार्थीहरूले घरमै बसिरहेको समयमा महानगरले यस्तो जीवनोपयोगी सिप सिक्ने अवसर दिएकोमा खुशी व्यक्त गरेका छन् ।
यस अभियानले काठमाडौँ महानगरलाई केवल भौतिक पूर्वाधारको सहर मात्र नभई मानवीय सुरक्षा र स्वास्थ्यका हिसाबले समेत सुदृढ बनाउने कार्यवाहक प्रमुख डंगोलको भिजनलाई सार्थक बनाउँदै लगेको देखिएको छ ।