सहरी व्यवस्थापनमा सुनिता डंगोलको कौशल : संवाद र समन्वयबाटै सडकका बस बसपार्कभित्र छिरे
काठमाडौँ, वैशाख १५ । काठमाडौँको सहरी अव्यवस्था हटाउन र सवारी आवागमनलाई सहज बनाउन महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चाल्नुभएको कदमले सार्थक परिणाम दिन थालेको छ । लामो समयदेखि सडक किनारमै काउन्टर राखेर चक्रपथ क्षेत्र अस्तव्यस्त बनाउँदै आएका धादिङ र नुवाकोट चल्ने सार्वजनिक यातायातका साधनलाई संवाद र समन्वयको माध्यमबाट नयाँ बसपार्कभित्रै व्यवस्थापन गरिएको छ ।
सहरी व्यवस्थापनमा कार्यवाहक प्रमुख डंगोलको स्पष्ट ‘भिजन’ र व्यवसायीका समस्या बुझ्ने लचकताका कारण यो जटिल काम सम्भव भएको हो । बल प्रयोगभन्दा पनि समझदारीलाई प्राथमिकता दिँदै उहाँले व्यवसायी, प्रहरी र व्यवस्थापन पक्षसँग चरणवद्ध छलफल गरी यो समाधान निकाल्नुभएको हो ।
‘सबैको जित’ हुने मोडेल
एकीकृत बसपार्क सञ्चालनको विषयमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले यसलाई सहरी सुविधा वितरणको ‘अनुकरणीय उदाहरण’ मान्नुभएको छ । उहाँका अनुसार यो निर्णयले कसैलाई नोक्सान नगरी सबै पक्षको जित सुनिश्चित गरेको छ ।
“हाम्रो आग्रहलाई व्यवसायीहरूले स्वीकार गरिदिनुभयो । महानगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा भएको यो कार्यले चक्रपथ कोरिडोरको पार्किङ समस्या न्यूनीकरण भएको छ,” डंगोलले भन्नुभयो, “सडकमा यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिम अब अन्त्य भएको छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप सुधार गर्नु हाम्रो प्राथमिकता हो ।”
कठोर तर न्यायोचित समन्वय
गत चैत २५ गते नै महानगरले सूचना जारी गरी बसपार्कभित्र जान आग्रह गरेको थियो । नुवाकोटतर्फका यातायात कम्पनी सम्पर्कमा आए पनि धादिङतर्फका व्यवसायी सुरुमा हिचकिचाएका थिए । तर, डंगोलको विशेष अग्रसरतामा वैशाख ७ गते प्रहरीका उच्च अधिकारीहरूसहितको बैठकले अन्तिम पटक ३ दिनको समय थप गर्दै संवादको ढोका खोलेको थियो ।
नेपाल प्रहरीका एआईजी ईश्वर कार्की, काठमाडौँ प्रहरी प्रमुख रमेश थापा र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीसहितको उक्त बैठकले डंगोलको नेतृत्वमा कार्यान्वयनको ठोस योजना बनाएको थियो । व्यवसायीका मर्का र गुनासो सुन्दै उनीहरूले मागेकै ठाउँमा काउन्टर उपलब्ध गराउने सहमति भएपछि धादिङका ९० र नुवाकोटका ६५ वटा सवारी साधन अहिले बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।
बदलिँदो बसपार्कको स्वरूप
ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का अनुसार अहिले दैनिक औसत ७०० गाडीमध्ये बसपार्क बाहिरै रोकिने ३५० सवारीलाई भित्र ल्याउने प्रक्रिया सफल भएको छ । १६१ रोपनीमा फैलिएको ७५० सवारी क्षमताको नयाँ बसपार्कलाई पूर्ण उपयोगमा ल्याउन डंगोलको यो ‘मूभ’ महत्त्वपूर्ण सावित भएको छ ।
सार्वजनिक सरोकारका विषयमा हतारमा निर्णय गर्ने तर कार्यान्वयनमा चुक्ने परिपाटीलाई चिर्दै कार्यवाहक प्रमुख डंगोलले “संवादबाट समाधान र समन्वयबाट व्यवस्थापन” को नयाँ शैली स्थापित गर्नुभएको छ । यसले काठमाडौँको ट्राफिक जाम र सडक सुरक्षामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।