पाँच वर्षपछि शुक्लागण्डकीमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

काठमाडौँ, बैशाख ११ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा निर्माण सम्पन्न भएको पाँच वर्षपछि कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले उक्त केन्द्र सञ्चालनको जिम्मेवारी लिएसँगै बिहीबारदेखि सेवा सुरु भएको हो ।

करिब रु दुई करोड ३० लाखको लागतमा निर्माण गरिएको उक्त सङ्कलन केन्द्र लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो । कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरण परियोजनाअन्तर्गत ‘बीउपुँजी घुम्ती कोष सञ्चालन कार्यक्रम’ कार्यान्वयनका लागि नगरपालिका र सहकारीबीच औपचारिक सम्झौता भएपछि केन्द्र सञ्चालनको बाटो खुलेको हो ।

नगर प्रमुख कृष्णराज पण्डितका अनुसार केन्द्रलाई सञ्चालनमा ल्याउन यसअघि पटक-पटक कानुनी प्रक्रिया अगाडि बढाइए पनि उपयुक्त साझेदार संस्था सम्पर्कमा नआउँदा ढिलाइ भएको थियो । “लामो समयको प्रतीक्षापछि सहकारीमार्फत केन्द्र सञ्चालन हुनु खुसीको कुरा हो, यसले स्थानीय कृषकका उत्पादनलाई बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,” प्रमुख पण्डितले रासससँग भन्नुभयो ।

शुक्लागण्डकी नगरपालिका र सहकारीको संयुक्त प्रयासमा सञ्चालनमा आएको यो केन्द्रले स्थानीय स्तरमा उत्पादित कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने र किसानलाई व्यावसायिकतातर्फ प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।