किमाथाङ्का नाका सञ्चालनसँगै भोटखोलाका एक हजारभन्दा बढी नागरिकले लिए सीमापास

काठमाडौँ, बैशाख ११ । सङ्खुवासभाको उत्तरी सीमावर्ती नाका किमाथाङ्का पुनः सञ्चालनमा आएपछि स्थानीय नागरिकको आवतजावतका लागि एक हजारभन्दा बढी सीमापास वितरण गरिएको छ । विसं २०८१ जेठ १२ गते नेपाल-चीन सीमाका १४ वटा नाका एकैसाथ खुला भएसँगै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सीमापास वितरणलाई तीव्रता दिएको हो ।

सीमा प्रशासन कार्यालयकी सृजना मेहताका अनुसार हालसम्म कुल एक हजार ३३८ जनालाई सीमापास उपलब्ध गराइएको छ । जसमा आर्थिक वर्ष २०८१/८२ मा एक हजार ८२ जना र चालू आर्थिक वर्षमा २५६ जनाले नयाँ पास लिएका छन् । यसैगरी, ६४८ जनाले आफ्नो सीमापास नवीकरण गराएका छन् ।

सीमापासको व्यवस्था भएपछि भोटखोला र मकालु गाउँपालिकाका बासिन्दालाई खाद्यान्न, दैनिक उपभोग्य वस्तु खरिद तथा रोजगारीका लागि सीमावर्ती चिनियाँ बजार पुग्न सहज भएको छ । विशेषगरी भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ का नागरिकहरू दैनिक जीविकोपार्जनका लागि चिनियाँ भूभागमा रहेका बजारहरूमा निर्भर रहँदै आएका छन् । यस क्षेत्रमा आलु र कोदोबाहेक अन्य बाली न्यून हुने भएकाले स्थानीयहरू रोजगारी र खाद्यान्नका लागि सीमापारिको चाँगा बजार जाने गर्दछन् ।

कोरोना महामारीका कारण २०७६ माघ ५ गतेदेखि चीन सरकारले बन्द गरेको यो नाका लामो समयपछि सञ्चालनमा आउँदा स्थानीयवासी उत्साहित भएका छन् । करिब पाँच हजार जनसङ्ख्या रहेको भोटखोला क्षेत्रका बासिन्दाका लागि यो नाका नै आर्थिक र सामाजिक गतिविधिको मुख्य माध्यम हो ।

भौगोलिक विकटताका कारण किमाथाङ्का अझै पनि सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक पुगेको अन्तिम विन्दुबाट नाकासम्म पुग्न अझै पनि दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको १६२ किलोमिटर सडक हाल निर्माणाधीन अवस्थामा छ । द्वन्द्वकालमा सदरमुकाम खाँदबारी सारिएको सीमा भन्सार कार्यालय अझै पनि सोही स्थानबाट सञ्चालित छ, जसका कारण सीमा क्षेत्रमा पूर्ण भन्सार सुविधाको प्रतीक्षा भइरहेको छ ।