पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फिर्ता : परराष्ट्र मन्त्रालय
काठमाडौँ, वैशाख ११ । पश्चिम एसियामा उत्पन्न पछिल्लो द्वन्द्व र तनावका कारण हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो क्षेत्रको असहज परिस्थितिका कारण वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपालीहरू ठूलो संख्यामा घर फर्किएको जानकारी दिइएको हो ।
मन्त्रालयको मध्यएसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार फर्कनेहरूमध्ये सबैभन्दा बढी कतारबाट २१ हजार नेपाली रहेका छन् । उनीहरू तत्कालको सुरक्षा संवेदनशीलता र कतिपय बिदाका कारण स्वदेश फर्किएका हुन् । मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सो क्षेत्रमा रहेका ८७ हजार ८१९ नेपालीले आफ्नो अवस्थाबारे विवरण दर्ता गराएको खड्काले जानकारी दिनुभयो ।
द्वन्द्वकै क्रममा इरानको हर्मुज क्षेत्रबाट पानीजहाजसहित नियन्त्रणमा लिइएका नेपाली नागरिक अमृत झाको रिहाइका लागि मन्त्रालयले उच्च प्राथमिकताका साथ कूटनीतिक पहल गरिरहेको छ । उनी छिट्टै रिहा हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।
यसैगरी, हाल इरानमा रहेका १० नेपालीमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहेको र बाँकी आठ जनाले सुरक्षित महसुस गरी उतै बस्ने इच्छा देखाएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो । मन्त्रालयले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षा र सहयोगका लागि ‘आपतकालीन प्रतिकार्य समूह’ मार्फत निरन्तर कार्य गरिरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा प्राप्त भएको र त्यसको प्रारम्भिक तयारी सुरु भइसकेको जानकारी दिनुभयो । साथै, राहदानी वितरण कार्यलाई थप सहज र प्रभावकारी बनाउन हुलाक विभागसँग समन्वय गरी नागरिकको घरदैलोमै राहदानी पुर्याउने व्यवस्थाका लागि पहल भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।