काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र दुई हजार ४९२ चालक कारबाहीमा : पाँच लाख बढी राजस्व सङ्कलन
काठमाडौँ, वैशाख १३ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार चार सय बयानब्बे (२,४९२) सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा कुल पाँच लाख चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अन्य विविध नियम पालना नगर्ने एक हजार ४१३ जना रहेका छन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापासे) गरी सवारी चलाउने ६८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने २७५ जना र ट्राफिक सङ्केत (बत्ती) उल्लङ्घन गर्ने १४५ जनामाथि कारबाही गरिएको छ ।
त्यसैगरी, तीव्र गतिमा सवारी साधन चलाउने १८३ जना, लेन अनुशासन पालना नगर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना तथा निर्धारित स्थानभन्दा बाहिर यात्री चढाउने र ओराल्ने ५९ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यकामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक प्रहरीले निगरानी र कारबाही प्रक्रियालाई तीव्रता दिएको छ ।