भूमिहीन सुकुम्बासीहरुको मानवोचित व्यवस्थापनको पूर्वाधार अवलोकनमा कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ,  वैशाख १३ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भूमिहीन सुकुम्बासीहरूको मानवोचित व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको स्थलगत अवलोकन गर्नुभएको छ । काठमाडौँका विभिन्न स्थानबाट स्थानान्तरण गरिने सुकुम्बासीहरूलाई अस्थायी बसोबास गराउने उद्देश्यले नागार्जुन नगरपालिका-१ स्थित सरकारी भवनको अवस्था बुझ्न वहाँ आइतबार त्यहाँ पुग्नुभएको हो ।

सरकारले हाल काठमाडौँको थापाथली, सिनामङ्गल र मनोहरा क्षेत्रमा रहेका नदी किनारका सुकुम्बासी बस्तीहरू हटाउने कार्यलाई तीव्रता दिइरहेको छ । सोही क्रममा विस्थापित हुने वास्तविक भूमिहीनहरूलाई व्यवस्थित र मानवीय वातावरणमा राख्नका लागि नागार्जुनको उक्त भवनलाई प्रयोगमा ल्याउन लागिएको हो ।

अवलोकनका क्रममा कार्यवाहक प्रमुख डंगोलले सुकुम्बासीहरूलाई स्थानान्तरण गर्नुपूर्व सो स्थानमा आधारभूत आवश्यकताहरूको पूर्ण सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो । वहाँले विस्थापित परिवारहरूको व्यवस्थापन कार्यलाई मानवीय संवेदनासँग जोडेर अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

हाल उक्त सरकारी भवनमा सरसफाइ, रङरोगन तथा आवश्यक मर्मत सम्भारको काम भइरहेको छ । थापाथली र अन्य क्षेत्रका सुकुम्बासीहरूलाई सोही भवनमा व्यवस्थापन गरिने भएकाले बसोबासयोग्य वातावरण निर्माण गर्न महानगर र सम्बन्धित निकायले सक्रियतापूर्वक काम गरिरहेका छन् । भवनको मर्मत सकिएलगत्तै सुकुम्बासीहरूलाई त्यहाँ सार्ने तयारी गरिएको छ ।