ठगी र आपराधिक विश्वासघातको कसुरमा स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौँ, २२ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘स्मार्ट टेलिकम प्रालि’ का सञ्चालक सर्वेश जोशीलाई ठगी र आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको छ।

ब्युरोका अनुसार, जोशीले बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने र आर्थिक नोक्सानी पुर्‍याउने उद्देश्यले कार्य गरेको अनुसन्धानबाट खुलेपछि उनलाई सोमबार पक्राउ गरिएको हो। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

स्मार्ट टेलिकमले २०७० साल वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको थियो। तर, कानुनबमोजिम तोकिएको समयभित्र बक्यौता रकम बुझाएर लाइसेन्स नवीकरण नगरेपछि प्राधिकरणले २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द गरेको थियो।

अनुमतिपत्र रद्द भएसँगै ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली’ बमोजिम स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार र संरचना दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो। सरकारको सम्पत्ति व्यवस्थापन प्रक्रियामा अवरोध पुर्‍याएको वा हिनामिना गर्न खोजेको आशङ्कामा जोशीमाथि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *