विकल्पविना बस्ती उजाडेको भन्दै देशभरका भूमिहीन सडकमा, प्रधानमन्त्री बालेनको राजीनामा माग

काठमाडौँ, २४ वैशाख । सरकारले वैकल्पिक व्यवस्था नै नगरी जबर्जस्ती बस्ती खाली गराउन थालेको भन्दै देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक आन्दोलनमा उत्रिएका छन्।

काठमाडौँबाट सुरु भएको ‘डोजर अभियान’ देशभर विस्तार हुने त्रास बढेपछि उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै सडकमा उत्रिएका हुन्।

पछिल्लो नौ दिनभित्रै काठमाडौँका १६ वटा बस्तीबाट १५ हजारभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको घरमा क्रूरतापूर्वक डोजर चलाएर जबर्जस्ती उठीबास लगाइएको भन्दै आज काठमाडौंकाे माइतीघर मण्डलमा विरोध प्रदर्शन भइरहेको छ। भने त्यही नियति दोहोरिने आशङ्कामा विभिन्न जिल्लाका सुकुम्बासीहरू ‘आवासको अधिकार’ सुनिश्चित गर्न माग गर्दै आन्दोलित भएका हुन्।