लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘अन्तर्राष्ट्रिय सांस्कृतिक दूत’मा चिनियाँ विद्यार्थी फु च्याङ नियुक्त

काठमाडौँ, २५ वैशाख । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई आफ्नो ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदानप्रदान दूत’ का रूपमा नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले च्याङलाई उक्त नियुक्तिको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

विश्वविद्यालयका अनुसार च्याङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उनले परोपकारी कार्यमा समेत सक्रियता देखाएका छन् । चीनबाट आर्थिक सहयोग जुटाएर नेपालका ग्रामीण बस्तीहरूमा इनार निर्माण गर्नुका साथै विश्वविद्यालयको पुस्तकालय व्यवस्थापनलगायतका परियोजनामा उनले महत्त्वपूर्ण भूमिका खेलेको विश्वविद्यालयले जनाएको छ ।

नवनियुक्त दूत च्याङले आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालकै एक मात्र बौद्ध विश्वविद्यालयको गरिमा र बौद्ध धर्मको वास्तविक सारलाई विश्वसामु चिनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए ।

यस नियुक्तिसँगै आगामी दिनमा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदानप्रदान अभियान अझ सशक्त र प्रभावकारी हुने विश्वविद्यालयले विश्वास लिएको छ ।