‘मानवतामा एकता’ नाराका साथ आज विश्व रेडक्रस दिवस मनाइँदै
काठमाडौँ, २५ वैशाख । ‘मानवतामा एकताबद्ध’ भन्ने मूल नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
यस अवसरमा रेडक्रसले जारी गरेको सन्देशमा जटिल र विभाजित बन्दै गएको वर्तमान विश्वमा रेडक्रस अभियानको महत्त्व झनै बढेको उल्लेख छ । रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीहरूले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै अभिन्न सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको कुरा सन्देशमा स्मरण गराइएको छ ।
साथै, मानवीय सेवामा समर्पित हुँदा ज्यान गुमाएका योद्धाहरूको स्मरण गर्दै निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यक परेका सबै नागरिकसम्म पुगोस् भन्ने आह्वानसमेत गरिएको छ ।
प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने उद्देश्यसहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो । सोहीअनुरूप सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो । पछि सन् १९८४ देखि यसलाई ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्ती (मे ८) को अवसर पारेर यो दिवस मनाउने निर्णय भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घले जनाएको छ ।
विपद्, युद्ध, महामारी तथा मानवीय सङ्कटका समयमा रेडक्रस र यसमा आबद्ध लाखौँ स्वयंसेवकहरूले अग्रपङ्क्तिमा रहेर निस्वार्थ रूपमा जीवन रक्षाको सेवा प्रदान गर्दै आएका छन् ।