रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने, चौथो दिन भोटो जात्रा हुने

ललितपुर, २५ बैशाख । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ लगिने भएको छ । ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिएका हुन् ।

हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा राखिएको रथलाई सोही दिन तय गरिएको शुभ साइतमा तानेर जावलाखेल पुर्‍याइनेछ । परम्परागत विधि र तान्त्रिक पूजाअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गरेका हुन् ।

रथलाई जावलाखेल पुर्‍याएको चौथो दिन रातो मत्स्येन्द्रनाथको ऐतिहासिक भोटो देखाउने जात्रा (भोटो जात्रा) सम्पन्न गर्ने परम्परा रहेको छ । भोटो जात्रा सम्पन्न भएसँगै यस वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा विधिवत् रुपमा समापन हुनेछ ।