संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोही छैन : कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल

काठमाडौँ, २६ वैशाख । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले मुलुकमा संविधान, संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने स्पष्ट पार्नुभएको छ। कानुन दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

सम्बोधनका क्रममा कामू प्रधानन्यायाधीश मल्लले संविधानको सफल कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले पछिल्लो समय कानुनी राज्यको अवधारणा र यसको प्रयोगमाथि उठिरहेका प्रश्नहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

“कतै अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तालाई शिथिल र अकर्मण्य बनाउने प्रयास त भइरहेको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ,” मल्लले भन्नुभयो। उहाँले न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न खोजिएको हो कि भन्ने संशय पैदा भएको उल्लेख गर्नुभयो।
उहाँले न्यायलाई समाजको अन्तिम गन्तव्य बनाउनुको साटो कतिपयले आफ्नै स्वार्थ रक्षाका लागि यसलाई ‘मुकुण्डो’ बनाउन खोजेको भन्दै त्यस्ता कुत्सित प्रयासहरूप्रति सतर्क रहनुपर्नेमा जोड दिनुभयो।