झापाको स्कुलचौनमा बस र टिपर ठोक्किँदा १० जना घाइते
झापा, २६ वैशाख । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे १ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र-२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा परी बस चालक कृष्णप्रसाद राजवंशीसहित १० जना घाइते भएका छन् । घाइते हुनेहरूमा योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उहाँकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का रहेका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये योगमाया निरौलाको अवस्था गम्भीर रहेको छ । उहाँलाई प्राथमिक उपचारपछि थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको छ । अन्य घाइतेहरूको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ ।
घटनालगत्तै पुगेको प्रहरी चौकी महारानीझोडाको टोलीले टिपर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।