महिला स्वास्थ्य सुधारमा कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्व : हजारौँ महिलाको निःशुल्क क्यान्सर परीक्षण र उपचार
काठमाडौँ, वैशाख २८ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको विशेष सक्रियता र नेतृत्वमा सञ्चालित ‘स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण’ अभियानले महिला स्वास्थ्यको क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ। महानगरपालिका र वीर अस्पतालको सहकार्यमा गत चैत १६ गतेदेखि सुरु भएको यस अभियानमार्फत हालसम्म २ हजार ९७५ महिलाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
परीक्षणको प्रारम्भिक नतिजा
वीर अस्पतालको तथ्याङ्कअनुसार परीक्षण गरिएकामध्ये १ हजार ७ सय महिलाको रिपोर्ट प्राप्त भइसकेको छ । जसमध्ये ६० जना महिलामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) पोजेटिभ देखिएको छ । रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरूलाई कार्यवाहक प्रमुख डंगोलकै पहलमा थप निःशुल्क उपचारका लागि हरेक बुधबार र शुक्रबार वीर अस्पताल बोलाएर ‘कल्पोस्कोपी’ गर्ने व्यवस्था मिलाइएको छ।
यस अभियानअन्तर्गत हालसम्म १८ जनाको कल्पोस्कोपी भइसकेको छ भने ४११ जनाको मेमोग्राम र ४९४ जनाको भिडियो एक्सरे गरिएको छ ।
निःशुल्क सेवा र महानगरको लगानी
कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरू आर्थिक अभावका कारण क्यान्सर जस्तो घातक रोग पालेर बस्न नपरोस् भन्ने उद्देश्यले यो अभियान थालनी गर्नुभएको हो। यसरी गरिने सम्पूर्ण जाँच, प्रारम्भिक उपचार, भिडियो एक्सरे र मेमोग्रामका लागि लाग्ने सबै खर्च काठमाडौँ महानगरपालिकाले व्यहोरेको छ। सेवाग्राहीले अस्पतालमा कुनै पनि शुल्क बुझाउनु पर्दैन।
सचेतना र जोखिम न्यूनीकरण
अभियानका क्रममा ४५ जनामा पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) र ८ जनामा संक्रमण (पीआइडी) देखिएको छ। चिकित्सकहरूका अनुसार एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन, तर समयमै उपचार नगरे ५ देखि १० वर्षभित्र क्यान्सर हुने जोखिम रहन्छ। त्यसैले ३० देखि ६० वर्ष समूहका महिलालाई हरेक ५ वर्षमा परीक्षण गराउन महानगरले प्रोत्साहित गरिरहेको छ ।
उपस्थितिको अवस्था र खोजी
स्वास्थ्य प्रवर्धन केन्द्रबाट ३ हजार ४९४ जनाले रिफरल स्लिप लिएकोमा ५१९ जना महिला अस्पताल नपुगेको पाइएको छ। प्रक्रिया सुरु गरेर पनि सेवा लिन नआउनुको कारणबारे महानगरले खोजी सुरु गरेको फोकल पर्सन चन्द्रा भट्टले जानकारी दिनुभयो ।
कार्यवाहक प्रमुखको सन्देश
सानै उमेरमा महिनावारी हुनु, ढिलो सन्तान जन्माउनु, स्तनपान नगराउनु वा धुम्रपान जस्ता कारणले स्तन क्यान्सरको जोखिम बढ्ने भएकाले स्तनमा नदुख्ने कडा गिर्खा देखिएमा वा निप्पलमा परिवर्तन आएमा तुरुन्त परीक्षण गराउन महानगरले अनुरोध गरेको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको यो मानवीय र स्वास्थ्य केन्द्रित पहलले काठमाडौँका महिलाहरूमा क्यान्सरबारे सचेतना जगाउनुका साथै समयमै रोग पत्ता लगाएर ज्यान जोगाउन ठूलो भूमिका खेलेको छ ।