शिक्षामा कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्व : काठमाडौँका सामुदायिक विद्यालयको एसईई नतिजामा उल्लेख्य सुधार

काठमाडौँ, वैशाख २९ ।  काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको ‘शिक्षामा रूपान्तरण’ अभियानले सार्थक परिणाम देखाउन थालेको छ । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले उत्साहजनक नतिजा हासिल गरेका छन्, जसलाई महानगरको शैक्षिक लगानी र नेतृत्वको सफलताको रूपमा हेरिएको छ ।

७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड
महानगरपालिका अन्तर्गतका ६० वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी ४ हजार १६७ विद्यार्थीमध्ये ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । यो गत वर्षको तुलनामा ०.६७ प्रतिशतले बढी हो । यस वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि भई २८ पुगेको छ, जबकि गत वर्ष यो संख्या १७ मात्र थियो ।

विशेष गरी चारवटा विद्यालय – केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत (१००%) नतिजा निकाल्न सफल भएका छन् ।

सुनिता डंगोलको भिजन : ‘बुकलेस फ्राइडे’ देखि विशेष क्याम्पसम्म
कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा महानगरले अवलम्बन गरेका नवीन कार्यक्रमहरूले नतिजा सुधारमा मेरुदण्डको काम गरेको छ । शिक्षा विभागका अनुसार विद्यार्थीहरूमा सिकाइप्रति रुचि जगाउन र तनावमुक्त वातावरण सिर्जना गर्न सुरु गरिएको ‘पुस्तक रहित शुक्रबार’ कार्यक्रमले विद्यार्थीको बहुआयामिक विकासमा ठूलो योगदान पुर्‍याएको छ ।

यसका साथै, नतिजा सुधारका लागि महानगरले बिदाको समयमा सञ्चालन गरेका विशेष क्याम्पहरू, ‘मिसन नतिजा’ अन्तर्गतका निगरानी कक्षाहरू र स्मार्ट कक्षाकोठाहरूको विस्तारले विद्यार्थीको प्रदर्शनमा निखार ल्याएको हो ।

गुणस्तरमा वृद्धि, तल्लो जीपीएमा कमी
तथ्याङ्क अनुसार, उच्च जीपीए (३.६ देखि ४) प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ पुगेको छ । नतिजाको सूक्ष्म विश्लेषण गर्दा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको संख्या बढ्दै जानु र तल्लो तहको जीपीए प्राप्त गर्नेहरूको संख्या घट्दै जानुले महानगरको शिक्षा क्षेत्र सही दिशामा अघि बढिरहेको पुष्टि गर्दछ ।

पुरस्कार र दण्डको नीति
शिक्षा अधिकारी नमराज ढकालका अनुसार, महानगरले यस नतिजाको सूक्ष्म विश्लेषण गरी सुधार गर्ने विद्यालयहरूलाई प्रोत्साहन गर्ने र निरन्तर कमजोर नतिजा ल्याउने विद्यालयहरूलाई ‘नकारात्मक सूची’ मा राखी विशेष निगरानी बढाउने तयारी गरेको छ ।

शिक्षक तालिम र प्रविधिमा जोड
शिक्षा अधिकृतहरूका अनुसार, कार्यवाहक प्रमुख डंगोलले शिक्षकहरूको दक्षता अभिवृद्धि गर्न विषयगत तथा प्रविधिमैत्री तालिमलाई प्राथमिकता दिनुभएको छ । प्रधानाध्यापकहरूको व्यवस्थापकीय क्षमता सुधार र शिक्षण सिकाइमा ‘डिजिटल पेडागोजी’ को प्रयोगले गर्दा सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको छ ।

शैक्षिक क्रियाकलापसँगै अतिरिक्त र विद्यार्थी केन्द्रित अभ्यासलाई सँगसँगै लैजाने महानगरको नीतिले काठमाडौँको सामुदायिक शिक्षामा नयाँ मानक स्थापित गरेको छ ।