दाङमा गुडिरहेको बसको टायर फेर्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु

काठमाडौँ, वैशाख २९ । दाङको बबई गाउँपालिकामा गुडिरहेको बसको टायर फेर्ने क्रममा करेन्ट लाग्दा एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार आज दिउँसो बबई गाउँपालिका–७ पातिहाल्नास्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो । मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २१९८ नम्बरको बसको टायर पन्चर भएपछि मर्मतका लागि चालक वली बसको छतमा चढ्नुभएको थियो ।

टायर फेर्ने क्रममा छतमा रहनुभएका वलीलाई विद्युतीय प्रसारण लाइनबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँलाई तत्काल उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।