निर्वाचनको हारलाई निराशा होइन, सङ्कल्पमा बदल्न एमाले महासचिव पोखरेलको निर्देशन

काठमाडौँ, २९ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा नभई सङ्कल्पमा बदल्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

आगामी जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारी स्वरूप ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले हारबाट सिकेर संगठनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका हुन् ।

“निर्वाचनमा हारको पीडा महसुस नभएसम्म माथि उठ्न सकिँदैन,” महासचिव पोखरेलले भने, “हरेकले फेरि जित्छन्, तर त्यसका लागि बलियो सङ्कल्प आवश्यक छ ।” उनले पछिल्लो निर्वाचनको परिणाम कुनै एक दलको मात्र हार नभई नेपालका सम्पूर्ण मूलधारका राजनीतिक शक्तिहरूका लागि गम्भीर चुनौती भएको औँल्याए ।

पार्टी जीवनमा आउने उतारचढाव र चिन्ताहरू स्वाभाविक भएको भन्दै उनले निराशालाई आशामा बदल्न पार्टी कमिटी र जनसंगठनहरू थप सक्रिय हुनुपर्ने बताए ।

महासचिव पोखरेलले पार्टीभित्रका आन्तरिक विषयलाई बाहिर छताछुल्ल पार्दा समाधान ननिस्कने र उल्टै निराशा बढ्ने भन्दै नेता–कार्यकर्तालाई सचेत गराए । “आवश्यक सुझावहरू पार्टीको संस्थागत संरचनाभित्रै राख्नुपर्छ,” उनले भने, “जनतामा जाने सन्देश सकारात्मक र रचनात्मक हुनुपर्छ ।”

सोही अवसरमा महासचिव पोखरेलले मदन–आश्रित स्मृति दिवस विगत वर्षहरूमा जस्तै यसपटक पनि बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमै मनाइने जानकारी दिए । यसका लागि देशभर रचनात्मक कार्यक्रम गर्न पार्टी केन्द्रबाट सर्कुलर जारी भइसकेको उनले बताए ।

बैठकमा एमाले सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, अर्का सचिव तथा उपत्यका विशेष प्रदेश इन्चार्ज डा. राजन भट्टराई, विभिन्न जनसंगठनका अध्यक्षहरू, उपत्यकाका पार्टी कमिटी तथा सम्पर्क कमिटीका प्रमुखहरूको सहभागिता रहेको थियो ।