प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै : सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौँ, वैशाख ३१ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक ११:१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको कार्यसूची
आजको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रममाथि सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् ।
यसअघि बुधबारको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। आजको सम्भावित कार्यसूची अनुसार, नीति तथा कार्यक्रममाथिको छलफल समाप्त गरी यसलाई निर्णयार्थ प्रस्तुत गरिने तयारी छ ।
राष्ट्रियसभाको कार्यसूची:
उता, माथिल्लो सदन राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि नै छलफल केन्द्रित रहनेछ। बिहान ११:१५ बजे बस्ने बैठकमा सदस्यहरूले नीति तथा कार्यक्रममाथि संशोधन र सुझाव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार दुवै सदनमा छलफलका लागि आवश्यक तयारी पुरा भइसकेको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि सोही आधारमा वार्षिक बजेट ल्याउने परम्परा रहेको छ ।