नुवाकोट दाजुभाइ हत्या प्रकरणः खुकुरी प्रहारको आशङ्का, ६ जना पक्राउ

नुवाकोट, ३१ बैशाख । नुवाकोटको म्यागङ गाउँपालिकामा दुई दाजुभाइको हत्या भएको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कुलो बनाउन भन्दै घरबाट निस्केका दाजुभाइको शव खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानलाई तीव्र पारेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, म्यागङ गाउँपालिका–४ किम्ताङबेँसीका ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव बुधबार जङ्गल नजिकैको खोलामा फेला परेको थियो।

परिवारका अनुसार, दुवै दाजुभाइ मङ्गलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनीहरूको खोजी गर्ने क्रममा बुधबार बिहान १० बजेतिर शव भेटिएको थियो। घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ, जुन सडकबाट करिब पाँच घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विपिन रेग्मीले हत्याको अनुसन्धानका लागि ६ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
.
प्रारम्भमा प्रहरीलाई गोली प्रहार गरी हत्या भएको भन्ने सूचना प्राप्त भएको थियो। तर, कसरी हत्या भयो भन्नेबारे प्रहरीले आधिकारिक रूपमा केही खुलाएको छैन। यद्यपि, प्रहरी टोलीले घटनास्थलबाट खुकुरीसमेत बरामद गरेकाले धारिलो हतियार प्रहार गरेरै हत्या गरिएको हुन सक्ने बलियो आशङ्का छ। एसपी रेग्मीले भने, “पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्याको वास्तविक कारण खुल्नेछ।”