इजरायली प्रधानमन्त्रीको ‘गोप्य’ युएई भ्रमणको दाबी : युएईद्वारा खण्डन, मध्यपूर्वमा नयाँ कूटनीतिक तरङ्ग

एजेन्सी, ३१ बैशाख । इरानसँगको तनावपूर्ण युद्धकै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त अरब इमिरेट्स (युएई) को गोप्य भ्रमण गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको भूराजनीतिमा नयाँ बहस सुरु भएको छ। इजरायलले यस भ्रमणलाई दुई देशबीचको सम्बन्धमा ‘ऐतिहासिक उपलब्धि’ भनेको छ भने युएईले यस्तो कुनै पनि गोप्य भेटवार्ता नभएको भन्दै दाबीको कडा खण्डन गरेको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेतान्याहु र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानबीच भेटवार्ता भएको जनाएको थियो। तर, युएईको सरकारी समाचार संस्था डब्लुएएम (WAM) ले यसलाई तत्काल अस्वीकार गरेको छ। डब्लुएएमले भनेको छ, “इजरायलसँगको युएईको सम्बन्ध सार्वजनिक, औपचारिक र ‘अब्राहम सम्झौता’ अनुसार सञ्चालन भइरहेको छ। यो कुनै अपारदर्शी वा गोप्य व्यवस्थामा आधारित छैन।” यसका साथै, युएईले आफ्नो भूमिमा इजरायली सैन्य प्रतिनिधिमण्डलको उपस्थितिलाई पनि अस्वीकार गरेको छ।

यो विवादास्पद दाबी अमेरिकी राजदूत माइक हुकाबीको भनाइलगत्तै सार्वजनिक भएको हो। हुकाबीले इजरायलले युएईलाई इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउन ‘आइरन डोम’ हवाई सुरक्षा प्रणाली र आफ्ना कर्मचारी पठाएको दाबी गरेका थिए। सन् २०२० को अब्राहम सम्झौतामार्फत सम्बन्ध सामान्य बनाएका यी दुई देशबीच युद्धको कठिन समयमा पनि सुरक्षा र व्यापारिक सहकार्य बढिरहेको सन्देश दिन इजरायलले यस्तो दाबी गरेको विश्लेषकहरूको भनाइ छ। इरानले भने युएईमा इजरायलको सैन्य उपस्थिति बढेको भन्दै निरन्तर आपत्ति जनाउँदै आएको छ।

यसैबीच, खाडी क्षेत्रमा अर्को तनाव पनि सिर्जना भएको छ। कुवेतले आफ्नो रणनीतिक महत्त्वको बुबियान टापुमा अवैध रूपमा प्रवेश गर्न खोजेको भन्दै चार इरानी नागरिकलाई पक्राउ गरेपछि इरान आक्रोशित बनेको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले कुवेतको कदमलाई ‘क्षेत्रमा कलह फैलाउने प्रयास’ भन्दै पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन्। उनले एक्स (ट्विटर) मार्फत आवश्यक परे इरानले जवाफ दिने चेतावनीसमेत दिएका छन्। यता, कुवेती अधिकारीहरूले भने पक्राउ परेका व्यक्तिहरू इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित हुन सक्ने आशङ्का गरेका छन्। बुबियान टापु चीनको पूर्वाधार परियोजनासँग जोडिएको छ भने युद्धका बेला इरानी आक्रमणको निशानामा समेत परेको थियो।

मध्यपूर्वको कूटनीतिक तनावबीच इरानभित्रको मानवअधिकारको अवस्था पनि चर्चामा छ। महिला तथा विपक्षी राजनीतिकर्मीको पक्षमा वकालत गर्दै आएकी चर्चित मानवअधिकार वकिल नसरीन सोतौदेह पक्राउ परेको एक महिनापछि जेलमुक्त भएकी छन्। उनलाई इरानी गुप्तचरहरूले अप्रिलमा तेहरानस्थित घरबाटै पक्राउ गरेका थिए। अमेरिकास्थित मानवअधिकार संस्था र उनकी छोरीले नसरीन तेहरानको एभिन जेलबाट जमानतमा रिहा भएको पुष्टि गरेका छन्।