उपकरण छ, जनशक्ति छैन : लहान प्रादेशिक अस्पतालमा १२ करोडको सिटी स्क्यान मेसिन अलपत्र

काठमडाौँ, वैशाख ३१ । ठूलो तामझामका साथ वैशाख २१ गते सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवाको उद्घाटन गरियो । स्थानीय स्तरमा सुलभ मूल्यमा विशेषज्ञ सेवा पाउने आशामा रहेका बिरामी र उनीहरूका आफन्तमा खुसी छायो। तर, विडम्बना! उद्घाटन भएको १० दिन बितिसक्दा पनि अस्पतालमा सिटी स्क्यान मेसिनले एउटा पनि बिरामीको जाँच गर्न सकेको छैन । कारण हो – मेसिन चलाउने दक्ष जनशक्तिको अभाव ।

मेसिन थन्कियो, बिरामी महँगो शुल्क तिर्न बाध्य

मधेस प्रदेश सरकारको १२ करोड रुपियाँ लागतमा खरिद गरिएका दुईवटा सिटी स्क्यान मेसिनमध्ये एउटा लहान पठाइएको थियो । मेसिन त आयो, तर यसलाई सञ्चालन गर्ने रेडियोलोजिस्ट र प्राविधिक नहुँदा उपकरण कोठामै थन्किएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहता भन्नुहुन्छ, “धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर चलाउने जनशक्ति नहुँदा जनतामा गलत सन्देश गइरहेको छ। मेसिन भएर पनि सेवा दिन नसक्दा हामी निकै अप्ठेरोमा परेका छौँ ।”

अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र एक जना सहयोगी कर्मचारीको तत्काल आवश्यकता छ ।

विज्ञको सरुवाले निम्त्याएको सङ्कट

रोचक तर दुखद पक्ष के छ भने, मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । प्रदेश सरकारले उहाँकै विज्ञतालाई मध्यनजर गर्दै लहानमा सिटी स्क्यान मेसिन पठाएको थियो । तर, मेसिन जडान नहुँदै गत माघ २ गते मन्त्रालयले डा. साहलाई सर्लाहीको मलङ्गवा सरुवा गरिदियो। विशेषज्ञ डाक्टरलाई अन्यत्र पठाएर मेसिन मात्रै अस्पतालमा राख्दा अहिले करोडौँको उपकरण काम नलाग्ने अवस्थामा पुगेको हो ।

हालै कार्यभार सम्हाल्नुभएकी अस्पताल प्रमुख डा. वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा निरन्तर समन्वय गरिरहेको बताउनुभयो । “हामीले पटक-पटक ताकेता त गरिरहेका छौँ, तर रेडियोलोजिस्टको अभाव प्रदेशभरि नै रहेकाले कहिले कर्मचारी आउँछन् भन्ने टुङ्गो लाग्न सकेको छैन,” उहाँले भन्नुभयो ।

नीतिगत कमजोरीको मारमा नागरिक

नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा उपकरण खरिद गर्ने तर जनशक्ति व्यवस्थापनमा ध्यान नदिने प्रवृत्तिको सटिक उदाहरण बनेको छ लहान अस्पताल। मधेस प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन महानिर्देशक डा. सुनिलप्रसाद कुशवाहाका अनुसार आर्थिक वर्ष २०८१/८२ को बजेटबाट यो मेसिन खरिद गरिएको थियो ।

अहिले लहान र आसपासका बिरामीहरू सामान्य सिटी स्क्यानका लागि पनि निजी अस्पताल वा धरान-विराटनगर जान बाध्य छन्, जहाँ सरकारी दरभन्दा कयौँ गुणा बढी शुल्क तिर्नुपर्छ। सरकारी अस्पतालमा उपकरण पुग्नु मात्र ठूलो कुरा होइन, त्यसले दिने सेवा प्रभावकारी हुनुपर्छ। लहान अस्पतालमा देखिएको यो ‘जनशक्ति सङ्कट’ले राज्यको लगानी बालुवामा पानी हाले सरह भएको छ ।

जबसम्म मन्त्रालयले दक्ष प्राविधिकको व्यवस्था गर्दैन, तबसम्म लहानका नागरिकका लागि यो १२ करोडको मेसिन केवल प्रदर्शनीको वस्तु मात्रै बन्ने निश्चित छ ।