कार्यवाहक प्रमुख डंगोल र सिंगापुरका उपउच्चायुक्त बाकाभी बिच शिष्टाचार भेट
काठमाडौँ, वैशाख ३१ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभी बिच आज शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौँ प्लाजास्थित कार्यवाहक प्रमुखको कार्यकक्षमा भएको उक्त भेटमा स्थानीय शासन, सहरी विकास, व्यवस्थापन र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले महानगरले सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवाहरूलाई दिगो र संस्थागत बनाउन प्राथमिकता दिएको बताउनुभयो । विगत ५ वर्षमा काठमाडौँको सौन्दर्य र व्यवस्थापनमा देखिएको सकारात्मक परिवर्तनबारे उपउच्चायुक्त बाकाभीले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै डंगोलले सहरी व्यवस्थापनका कार्यहरूलाई योजनाबद्ध ढंगले अगाडि बढाइएको उल्लेख गर्नुभयो ।
कुराकानीका क्रममा डंगोलले सार्वजनिक यातायातलाई यात्रुहरूको पहिलो रोजाइ बनाउने लक्ष्यका साथ महानगरले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले नवप्रवर्तन र विकासका नयाँ आयामहरूमा सहकार्यको आवश्यकतामा समेत जोड दिनुभयो ।
सो अवसरमा उपउच्चायुक्त बाकाभीले नेपालको स्थानीय शासन प्रक्रिया, निर्वाचन प्रणाली, स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको भूमिका तथा प्रमुख र उपप्रमुखको कानुनी दायित्वबारे चासो व्यक्त गर्नुभएको थियो । युवा अवस्थामा नै राजनीतिमा प्रेरित हुनुको कारणबारे बाकाभीले सोध्नुभएको प्रश्नमा डंगोलले भन्नुभयो, “सामाजिक क्षेत्रमा रहँदा एउटा निश्चित दायरामा मात्र सुधार गर्न सकिन्थ्यो, तर राजनीतिमा गरिने एउटा नीतिगत निर्णयले बृहत् जनसमुदायलाई एकैपटक लाभान्वित तुल्याउन सकिने भएकाले म यस क्षेत्रमा आकर्षित भएकी हुँ ।”
भेटवार्तामा सिंगापुर दूतावासका राजनीतिक प्रथम सचिवद्वय अब्राहम टाम र जोस्हुआन लिम, सामाजिक सचिव सोनियाको उपस्थिति थियो । त्यसैगरी महानगरपालिकाको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौतम र कार्यवाहक प्रमुखको सचिवालयका अधिकृत सौरभ गौतम लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।