युवा पुस्तालाई परम्परासँग जोड्दै ‘आरम्भ’ : विद्यार्थीले कोरेका पौभा कला प्रदर्शनीमा
काठमाडौं, ३१ बैशाख । राजधानीको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा विद्यार्थीहरूले तयार पारेका परम्परागत पौभा कलाको प्रदर्शनी सुरु भएको छ। युवा पुस्तालाई परम्परागत कला र संस्कृतिसँग जोड्ने उद्देश्यसहित ‘आरम्भ’ शीर्षकमा उक्त प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले पौभा कला कोर्नु सामान्य चित्र बनाउनु मात्र नभई अनुशासन, समर्पण र अन्तरमनसँग जोडिने आध्यात्मिक अभ्यास भएको अनुभव साटेका छन्।
सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक सङ्गीता थापाले विद्यार्थीहरूद्वारा निर्मित कलाकृतिले परम्परागत कलातर्फ युवापुस्ताको अग्रसरता बढ्दै गएको सुखद अनुभूति गराएको बताइन्। “पौभा कलाप्रति युवाहरूको सिकाइ र आकर्षणले हाम्रो सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ,” निर्देशक थापाले भनिन्, “यस्तो सामूहिक सिकाइले अन्तरपुस्ता ज्ञानको आदानप्रदानमा समेत ठूलो सहयोग पुर्याउँछ।”
प्रदर्शनीमा मुख्यगरी दुईवटा विधामा कलाकृतिहरू प्रस्तुत गरिएका छन्। ‘कला आकार’ शीर्षकअन्तर्गत ३३ जना विद्यार्थीले कोरेका विविध पौभा कलाहरू राखिएका छन्। जसमा अलिश श्रेष्ठ, अनिकेत सिंह, अनिल बुद्धाचार्य, आशिष शाक्य, अश्म कंठ, वर्ष लेखी, विकेश शाक्य, दुर्गा बजगाई, एलिजा शाक्य, गगनकुमार ज्यापू र गणेश विश्वकर्माका सिर्जना रहेका छन्।
त्यसैगरी, जेनी महर्जन, क्रिस्टिना डङ्गोल, लसता शाक्य, लक्ष्मी तामाङ, मनमिका मैनाली, मेरी धिताल, नदीम महर्जन, नरेन्द्र मल्ल, निशा तुलाधर, पलेशवान लामा, प्रसुन कुमार, रोमा लिम्बू, रुबिना प्रजापति, श्रेया मानन्धर, श्रेया तामाङ, श्याम घिमिरे, स्नेहा बज्राचार्य, सोनिशा महर्जन, श्रीप्रिया श्रेष्ठ, सुदन सिंह ठकुरी, सुजना सिंह र सुस्मिता श्रेष्ठले तयार पारेका कलाकृतिहरू पनि ‘कला आकार’ मा समावेश छन्।
त्यस्तै, प्रदर्शनीको अर्को खण्ड ‘मुख आकृति’ शीर्षकअन्तर्गत मनोज सिंखवाल, प्रियङ्का डङ्गोल, रोशन खाजु, सुबोध शाक्य, स्वर्णिम शाक्य र सुन्दर श्रेष्ठले कोरेका परम्परागत मुखाकृतिहरू सजिएका छन्।
नयाँ पुस्ताले प्राचीन पौभा कलाको मर्मलाई कसरी सिकिरहेका छन् भन्ने झल्काउने यो प्रदर्शनी आगामी जेठ ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।