नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढीकरण: द्विपक्षीय सहकार्य र साझा हितका विषयमा छलफल
काठमाडौँ, १ जेठ । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली र थाइ परराष्ट्र मन्त्रालयका उच्च अधिकारीबीच बैंककमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। राजदूत ओली र थाइल्यान्डको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिनबीच बिहीबार भेटवार्ता भएको हो।
बैंककस्थित नेपाली राजदूतावासका अनुसार भेटका क्रममा दुई देशबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षा जस्ता क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने सहमति भएको छ।
भेटमा दुवै पक्षले गत वर्ष नेपाल र थाइल्यान्डबीच सम्पन्न भएका आठवटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गरेका थिए। ती सहमतिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन र कृषि सहयोगका साथै फौजदारी मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी प्रस्तावित सम्झौताहरूलाई छिट्टै निष्कर्षमा पुर्याउन दुवै पक्ष सहमत भएका छन्।
यस्तै, ‘नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्र’को आगामी बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालमा आयोजना गर्ने विषयमा समेत विचार आदानप्रदान भएको छ।
व्यापारिक क्षेत्रमा नेपाली तथा थाइ उत्पादनबीचको मूल्य शृङ्खलालाई सुदृढ गर्ने विषयमा छलफल केन्द्रित थियो। विशेषगरी हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने अवधारणामा जोड दिइएको छ।
राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार दुवै देशले भिसा प्रक्रियालाई थप सहज बनाउने र पर्यटन सेवामा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन्। सुरक्षाका क्षेत्रमा मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदानप्रदानमा सहकार्य बढाउने सहमति भएको छ।
साथै, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा एकअर्काको उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने विषयमा पनि दुवै पक्षले सकारात्मक प्रतिबद्धता व्यक्त गरेका छन्।